TodayPati

मधेश प्रदेश : जहाँ नेपालीको मृत्युपछि शव भारतीय भूमिमा जलाउन लागिन्छ !

टुडेपाटी-
जनकपुरधाम, असार ५ गते ।

खुल्ला सीमाको कारण नेपाली र भारतीयबीच बेलाबेला विवाद भइरहन्छ । कहिले भारतीयद्वारा सीमा अतिक्रमण, त कहिले एसएसबी जवानबाट ज्यादतीको घटना सुन्नु देख्नु नेपालीको लागि नौलो होइन । यस्तो अवस्थामा नेपालीको मृत्यु पश्चात भारतीय भूमिमा दाहसंस्कार गरिन्छ, कसैले भन्दा वा सुन्दा पत्यारिलो नलाग्नु अस्वभाविक नहुन सक्छ । यधपी धनुषाको एउटा यस्तो गाउँ हो, जहाँ मानिसको मृत्यु हुँदा भारतीय भूमिमै अन्त्येष्टी गरिन्छ । त्यो गाउँ हो, मुखियापट्टी मुसहरनीया गाउँपालिका २ को उतरवारी टोल । यो गाउँका कसैको मृत्यु भएको खण्डमा शवलाई भारतमा लगेर अन्त्येष्टि गर्ने प्रचलन छ । अर्थात् त्यहाँ वर्षौदेखि नेपालीको स्मसानघाट छ ।

वैशाख ३० गते विहान स्थानीय ६० वर्षीय मोतीरामको निधन भयो । उनको अन्त्येष्टि पनि यो स्मसानघाटमै गरियो । स्मसानघाट र उत्तरवारीटोलको दुरी करिब एक किलोमिटर छ । स्मसानघाट जमुनी नदीको किनारमा पर्छ । दशगजाबाट करिब सय मिटर भित्र स्थान भित्र स्मसानघाट पर्ने ठाउँ भारत बिहार राज्यको मधुवनी जिल्लाको फुलहरघाट हो ।

Sponsored

मोतीरामको मलामी गएका स्थानीय अशोक राम भन्छन् ‘पूर्वजकै पालादेखि यो स्मसानघाट हाम्रो हो । गाउँका कसैको मृत्यु भयो भने यहाँ ल्याएर दाहसंस्कार गर्ने गरिन्छ । कसैले कुनै अवरोध गर्दैन’

गत वैशाखको दोश्रो साता उत्तरवारी टोलका सुवेदार यादवकी ६९ वर्षीया श्रीमती अनरिया देवीको मृत्यु पश्चात यही स्मसानघाटमै अन्त्येष्टी गरिएको थियो । स्मसानघाट भारतीय किसानको जमिन हो । तर धनीमानी भएको कारण उनीहरु खनजोत गर्दैन । त्यसैले भारतीय पक्षबाटछ कहिल्यै अवरोध नगरेको सुवेदार यादव बताउँछन् ।

‘यो फुलहरबलाहरुको जग्गा छ । उनीहरु धनीमानी छन् । खेतीपाती गर्दैनन् । कहिले काहीँ आउँछन् । तर अवरोध गर्दैनन् । हाम्रो गाउँको स्मसानघाट नै यही हो’ यादव भन्छन् ‘हामी गाइवस्तु चराउँछौं । यही मान्छे जलाउँछौं ।’

Sponsored

जवकी यही ठाउँमा केही महिना अघिसम्म नेपाली र भारतीय किसानबीच झण्डै चारदशकसम्म जग्गा बिबाद चल्यो । बेला बेला भीडन्तको स्थिति सृजना हुन्थ्यो ।

सुवेदार यादवका अनुसार सीमा भएर बग्ने जमुनी नदीले २०४२ सालमा धार परिवर्तण गर्यो । नदी धार परिवर्तन गर्दा नेपाली भूमिबाट बग्न थाल्यो । झण्डै पाँच विघा जग्गा नै पारी गरिदियो । र भारतीय किसानले कब्जा गरी उब्जाउन थाले । र भारतीय किसानको एक विघा जग्गा नेपाली किसानले । नदीले बगाएको सीमा स्तम्भ भने सातवर्ष अघि दुबै देशले नापजाँच गरि पुनः गाडेको थियो । केही महिना अघि सहमति सम्झौता गरी जग्गा विवाद समाधान भएको छ । नेपालीको जग्गा भारतीय किसानले फिर्ता गरेका छन् । अब नेपालीले खनजोत गर्न सुरु गरेका छन् ।

यति लामो समयसम्म जग्गा बिबाद हुँदा पनि स्मसानघाटमा नेपालीलाई शव जलाउन भने भारतीय पक्षले कुनै अवरोध नगरेको सुवेदार यादवको भनाइ छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *