चन्द्रनगर गाउँपालिकामा बालिका सम्मेलन गर्ने विषयमा विवाद, हुनुपर्ने माग गर्दै स्थानीयले गरे प्रदर्शन
टुडेपाटी-
सर्लाही, असार २ गते ।
सर्लाहीको चन्द्रनगर गाउँपालिकामा जनप्रतिनिधिबीचको विवादले बालिका सम्मेलन स्थगित भएको भन्दै स्थानीयले प्रदर्शन गरेका छन् ।
स्थानीय महिला, युवती, किशोरी तथा बालबालिकाले सम्मेलन गर्नुपर्ने माग राख्दै शनिबार प्रदर्शन गरेका हुन् ।
बाल विवाह सन् २०३० सम्म अन्त्य र बालिकालाई सक्षम बनाउने उदेश्यले पूर्वनिर्धारित कार्यक्रम अनुसार पालिकाले शनिबार नाढीमन तालमा बालिका सम्मेलन आयोजना गर्ने तय थियो ।
तर गाउँपालिका उपाध्यक्ष गितादेवी महतो लगायत अधिकांश जनप्रतिनिधि विरोधमा उत्रेपछि अन्त समयमा आएर पालिका अध्यक्ष राजकुमार महतोले सम्मेलन स्थगित गरेका हुन् । शुक्रबार उनले पत्रकार सम्मेलन आयोजन गर्दै सम्मेलन तत्कालका लागि स्थगित गरेको जानकारी गराएका थिए ।
नगरसभाबाट पारित भएको बालिका सम्मेलन गर्न अध्यक्ष महतोले आफूहरुसित सल्लाह नगरेको भन्दै उपाध्यक्ष महतो, वडा नं. ७ का वडाध्यक्ष रामस्वरुप कुर्मी, वडा नं. ६ का वडाध्यक्ष दिपेन्द्र चौधरी, वडा नं. ५ का वडाध्यक्ष, वडा नं. ४ का वडाअध्यक्ष राजिव सिंह, वडा नं. ३ का वडाध्यक्ष सिताराम महतो लगायत गाउँपालिका कार्यालय अगाडी केहिदिनदेखि दैनिक धर्ना दिँदै आएका छन् ।
स्थगित भएको विरोधमा स्थानीयले बालिका सम्मेलन चाँडै गर, बालिका सम्मेलन रोक्न पाइदैन, बाल बिबाह अन्त्य गर, महिला अधिकार हनन गर्न पाइदैन,बालिका बिरोद्धी जनप्रतिनिधि तथा नेता चाहिदैन, लगायतको नारा लगाउँदै प्रदर्शन गरेका हुन् ।
उनीहरुले उपाध्यक्ष महतो महिला भएर पनि महिला तथा बालिकाहरुको हक अधिकार खोसेर बालिका सम्मेलन स्थगित गराउन आन्दोलन गर्नु घिन लाग्दो विषय बनेको बताएका छन् । बालिका सम्मेलन नभए पालिकासहित वडा कार्यालयहरुमा तालाबन्दी गर्ने चेतावनी समेत उनीहरुले दिएका छन् ।
Sponsored
गाउँपालिका अध्यक्ष राजकुमार महतोले बालिका हितमा काम गर्न खोज्दा उपाध्यक्षसहितका जनप्रतिनिधि बजेटको भागबण्डा खोजेर भाँड्न खोजेको बताए । ‘पाध्यक्षले न्यायिक कार्य बाहेक आफनो भागमा २ करोड र वडा अध्यक्षले १÷१ करोड बजेट भागबण्डा लिएका छन् । सबै बजेट माटो ग्राइभेलमा लगाइरहेका छन् । बालिकासम्मेलनमा भागबण्डा पाउने नदेखेपछि यति महत्वपूर्ण कार्यक्रम हुन नदिने मनस्थितिमा उनीहरु छन्’ पालिका अध्यक्ष महतोले भने ।
उनले स्थगन गरिएको बालिका सम्मेलन असार १५ गते भित्र गर्ने बताए ।
यता पालिका उपाध्यक्ष महतोले विना सरसल्लाह बालिका सम्मेलन गर्न खोजेकाले रोकेको बताउँदै अब कुनैपनि हालतमा हुन नदिने बताइन् ।