आज बजेट ल्याउँदै मधेश सरकार
टुडेपाटी-
जनकपुरधाम, असार १ गते ।
मधेस प्रदेश सरकारले आज आगामी आर्थिक वर्षको बजेट ल्याउँदैछ ।
प्रदेशका अर्थमन्त्री संजयकुमार यादवले आर्थिक वर्ष २०८०/८१ को आर्थिक आज साँझ ५ बजे प्रदेश सभाको बैठकमा प्रस्तुत गर्ने प्रदेश सभा सचिवालयले जनाएको छ ।
प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार मधेस सरकारले बजेट ल्याउन लागेको हो । अर्थ मन्त्रालयका सचिव प्रेमप्रसाद भट्टराईले प्रदेश सरकारको २० अर्ब र संघीय सरकारले दिने १५ अर्ब गरी कूल ३५ अर्बको बजेट ल्याउन लागिएको बताए ।
संघ सरकारले आगामी आर्थिक वर्षका लागि मधेसमा २२ प्रतिशत बजेट कटौती गरी पठाएकाले यस वर्ष बजेटको आकार घट्ने उनले जानकारी दिए ।
मधेस प्रदेश सरकारले यसअघि आर्थिक वर्ष २०७६/७७ मा ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजार रुपैयाँको बजेट ल्याएको थियो । त्यस्तै, २०७७/७८ का लागि ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजार र २०७८/७९ मा ३३ अर्ब ७९ करोड १४ लाख ३० हजार रुपैयाँको बजेट सार्वजनिक गरिएको थियो ।
मधेस प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७९/८० मा ४६ अर्ब ९१ करोड ४८ लाख ८८ हजारको बजेट ल्याएको थियो ।
Sponsored
अर्थमन्त्री संजयकुमार यादवले आगामी वर्षको बजेटमा कृषि, स्वास्थ्य, शिक्षा र सिचाईंलाई प्रमुख प्राथमिकतामा राखिएको जानकारी दिएका छन् ।