मेलमिलापको माध्यमबाट द्वन्द व्यवस्थापन एक मात्र बिकल्प : सभामुख मण्डल
टुडेपाटी-
जनकपुरधाम, जेठ २६ गते ।
मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले दुबै पक्षलाई मिलाए मात्र द्वन्दको व्यवस्थापन गर्न सकिने बताएका छन् । जनकपुरमा शुक्रबार भएको नेपालको संत्रमाणकालीन न्यायमा परिपुरण र मेलमिलाप सम्बन्धी परामर्श बैठकमा सभामुख मण्डलले सो कुरा बता एका हुन् ।
नेपाल पुनस्र्थापकीय न्याय मञ्चले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख मण्डलले तत्कालिन माओवादीको दशवर्षे जनयुद्धताका राज्य र माओवादी पक्षबाट भएको घटनाको मेलमिलाप बाहेकको बिकल्प नरहेको बिचार व्यक्त गरे ।
‘परिवर्तनको परिकल्पना जहाँ गरिन्छ । त्यहाँ द्वन्द हुन्छ’ सभामुख मण्डलले भने ‘द्वन्दको व्यवस्थापन गर्न सक्नु पर्दछ । नभए समाज अर्धोगतिबाट गुज्रिनु पर्ने अवस्था हुन्छ’
सरकारले गठन गरेको सत्यनिरुपण तथा मेलमिलाप आयोगको दृष्टिकोण र उदेश्य पनि द्वन्द व्यवस्थापन नै रहेको उनको भनाइ छ ।
द्वन्दले देशमा ठूलो राजनीतिक परिवर्तन सम्भव भएको बताउँदै उनले अब यसलाई मेलमिलापको माध्यमबाट द्वन्द व्यवस्थापन गर्नु एक मात्र बिकल्प रहेको तर्क गरे ।
तत्कालिन बखतको घटनालाई उजुरबाजुर वा मुद्दाको प्रक्रियामा गए पुनः देश द्वन्दमा धकेलिने र उपलब्धि गुम्ने खतरा रहेको सभामुख मण्डलको भनाइ छ । अहिले पुनः तत्कालिन घटनालाई उचाल्ने र द्वन्द गराउने प्रयास भइरहेकाले राज्यले नै यसको व्यवस्थापन शान्तिपूर्ण वातावरणमा गर्नु पर्ने उनले बताए ।
कार्यक्रममा मधेश प्रदेशका मुख्यन्यायाधीवक्ता विरेन्द्र ठाकुरले २० वर्षमा पनि दुबै पक्ष मेलमिलाप हुन नसक्नुमा राज्य इमान्दार नभएको बताए । राज्यले लोकअदालत गठन गरी द्वन्दकालिन घटनाको निरुपन गर्नु पर्नेमा उनले जोड दिए ।
कार्यक्रममा आधिवक्ता राजकुमार महासेठले पीडित पक्षलाई चित्त बुझाए मात्र परिपूरण सम्भव भएको बताए । ‘जे जसरी होस् द्वन्द पीडितलाई विभिन्न किसिमबाट चित्त बुझाउन सके मात्र परिपुरण गर्न सम्भव छ ।’ उनले भने ।
Sponsored
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग जनकपुरकी प्रमुख मञ्जु खतिवडा, द्वन्दकालिन पीडित परिवार लगायतले आ आफ्नो धारणा राखेका थिए ।
मानअधिकारकर्मी सुभद्रा आलेको अध्यक्षतामा भएको विमर्श बैठकमा संयोजन आयोजक संस्थाका प्रतिनिधि शुभनारायण यादवले गरेका थिए ।