रौतहटको गौर हत्याकाण्डसम्बन्धी मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा
टुडेपाटी-
काठमाडौं, जेठ २५ गते ।
गौर हत्याकाण्डसम्बन्धी मुद्दा सर्वोच्च अदालतले ‘हेर्न नभ्याइने’ सूचीमा राखेको छ ।
सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा बिहीबार परेको उक्त मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको हो ।
वि.सं. २०६४ चैत २७ गते तत्कालीन मधेशी जनाधिकार फोरम र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीचको झडपमा २८ जना माओवादी कार्यकर्ता मृत्यु भएको थियो ।
जसलाई गौर हत्याकाण्डले चिनिन्छ ।
जेठ २१ गते यस हत्याकाण्डविरुद्ध पीडित परिवारका तर्फबाट त्रिभुवन साहले सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका थिए ।
Sponsored
उक्त मुद्दाको पेसी जेठ २२ गते न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको भए पनि ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको थियो ।
बिहीबार पनि न्यायाधीश राउतको इजलासमा परेको उक्त मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको हो ।
आज न्यायाधीश राउतका लागि तीन वटा छुट्टाछुट्टै कजलिस्ट तोकिएको थियो । जसअनुसार न्यायाधीश राउतको एकल इजलास, राउत र कुमार रेग्मीको संयुक्त इजलास तथा राउत र सुष्मालता माथेमा अर्को संयुक्त इजलास तोकिएको थियो ।
न्यायाधीश राउतको एकल इजलासमा परेको गौर हत्याकाण्ड समेतको सूची रहेको क्लष्टरबाट बन्दी प्रत्यक्षीकरणको एक मात्रै रिट हेरेर अन्य रिट निवेदन ‘हेर्न नभ्याइने’मा राखिएको छ ।