TodayPati

एमालेमा नयाँ सदस्यताको लागि सवा लाखको आवेदन

रासस–
काठमाडौं, जेठ २४ गते ।

नेकपा एमालेले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’ अभियानका अवधिमा एक लाख १९ हजार ९६ नयाँ सदस्यताको आवेदन परेको छ ।

गत मङ्सिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अपेक्षित नतिजा नआएपछि एमालेले पार्टी सुदृढीकरणका लागि गत फागुन ५ देखि वैशाख ९ गतेसम्म ‘मिसन ग्रासरुट’ सञ्चालन गरेको थियो । पार्टीका माथिल्ला र तल्ला कमिटीका नेता तथा कमिटी परिचालित सो अभियानका क्रममा उक्त सङ्ख्यामा नयाँ सदस्यताको आवेदन परेको हो ।

Sponsored

उक्त आवेदनलाई अध्ययन गरी पार्टीको केन्द्रीय सङ्गठन विभागले स्वीकृति र नवीकरण भएका सदस्यको अद्यावधिक गर्ने सो पार्टीका जनसङ्गठन समन्वय संयन्त्रका संयोजक एवम् सङ्गठन विभागका सदस्य भानुभक्त ढकालले जानकारी दिए ।

एमालेले हालैको केन्दीय कमिटी र सचिवालयको निर्णयबमोजिम आउने असार मासन्तभित्र पार्टी सदस्यताको नवीकरण अद्यावधिक गराई भदौमा सबै प्रदेशको अधिवेशन सम्पन्न गर्ने तयारी गरिएको सचिवालयको बैठकपछि अध्यक्ष केपी शर्मा ओलीबाट जारी अन्तरपार्टी निर्देशन–७ मा जनाइएको छ ।

मिसन ग्रासरुट अभियानको समीक्षा र भावी योजना तर्जुमाका लागि गत वैशाख २८ देखि ३० गतेसम्म एमालेको केन्द्रीय कमिटीको पाँचौँ बैठक भएको थियो । अभियानका क्रममा देखिएका वैचारिक र साङ्गठनिक क्षेत्रका समस्या र चुनौतीलाई सम्बोधन गर्न सो पार्टीले विशेष योजनासहित निर्देशन जारी गरेको छ ।

Sponsored

साथै मनोनयनबाट थप भएकासहित तीन सय ४९ केन्द्रीय सदस्यको नयाँ कार्यविभाजन गरिएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *