चारदिने भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री प्रचण्ड, भने -‘भ्रमण उपलब्धिमूलक रह्यो’
टुडेपाटी-
जनकपुरधाम,जेठ २० गते ।
चार दिने भारत भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्केका छन् ।
शनिबार साँझ नेपाल वायु सेवा निगमको विमानबाट काठमाडौं आएका हुन् ।
गत बुधबार भारत भ्रमणमा गएका प्रधानमन्त्री प्रचण्डले भ्रमणका क्रममा भारतसित विभिन्न सम्झौता तथा समझदारी गरेका थिए । उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डल स्तर र वान अन वान पनि भेटवार्ता गरेका थिए ।
भ्रमण सकेर फर्किएलगत्तै भएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले यसअघिका भ्रमणभन्दा यो पटक उपलब्धिपूर्ण भएको दाबी गरेका छन्।
उनले ईपीजीकै कुरा धेरै उचालेर आर्थिक र द्विपक्षीय सहयोगका अरु क्षेत्रमा भएको परिणाममुखी वातावरण विगार्न नचाहेको बताए ।
‘ईपीजी हामी सबैको चासोको कुरा हो, मैले आफ्नो ढंगले कुरा नगरेको छैन, आफ्नो ढंगले कुरा गरेको छु, तर यो विषयलाई बढी उचालेर आर्थिक र द्विपक्षीय सहयोगको क्षेत्र विस्तारको जो परिणामुखी वातावरण बनेको बिगार्नु उचित थिएन’ उनले भने ।
Sponsored
नेपाल र भारतको राजनीतिक नेतृत्वबीच यो भ्रमणले विश्वासको वातावरण बनेको भन्दै उनले यही वातावरण सहज रुपमा अगाडि बढेमा ईपीजीको विषयमा पनि कुरा हुन सक्ने बताए ।