किताकाट खोल्नुपर्ने लगायतका विभिन्न २० बुदे मागसहित लोसपाले राजविराज नपामा बुझाए ज्ञापनपत्र
शुभ नारायण यादव–
राजविराज, जेठ १८ गते ।
सप्तरीको राजविराज नगरपालिकाको उदासीनताले हालसम्म किताकाट नखुलेको भन्दै विभिन्न २० बुदे माग सहित लोसपा नेपालले राजविराज नगरपालिकामा ज्ञापनपत्र बुझाएको छ ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका संयोजक दिपेन्द्र चौधरीको नेतृत्वमा नेता तथा कार्यकर्ताहरुले राजविराज नगरपालिकाकी कार्यवाहक मेयर इसरत परविनलाई सो ज्ञापनपत्र बुझाएका हुन ।
बुझाइएको ज्ञापनपत्रमा यहाँका किसान तथा मजदुरहरूले नगरपालिकाबाट पाउनुपर्ने सिचाइ, मलखाघ, बीउ, बिजन लगायतका सेवा सुबिधाहरु नपाएको दुख ब्यक्त गर्दै वृद्ध, एकल महिला, अपांगता भएका ब्यक्ति लगायतको सामाजिक सुरक्षा भत्ता समयमै उपलब्ध गराउनुपर्ने, पछिल्लोपटक गर्मी बढेसँगै राजविराज नगरपालिकामा लामखुट्टेको प्रकोपबाट नगरबासिहरु त्रशीत रहेकाले यसबाट मुक्ति दिनुपर्ने, बढदो गर्मीसँगै लोडसेडिङ्ग बढेकाले बेकल्पिक व्यवस्था गर्नुपर्ने माग गरेको छ ।
यस्तै, गाउँ ब्लक तथा अव्यवस्थित बसोबासिहरुलाइ लालपुर्जा वितरणमा ढिलाइ भएकोले सो समाधान गर्नुपर्ने, घर निर्माणको नक्सा पास गर्ने कार्यमा बिना मतलबको ढिलाइ र हैरानिबाट मुक्त गर्नुपर्ने, विभिन्न सञ्चारमाध्यममा नगर कार्यपालिकासँग जोडिएको भ्रष्टाचार सम्बन्धित समाचारहरु प्रकाशन भएकाले त्यसको उचित छानवीन हुनुपर्ने, राजविराजको बिटोरि जग्गाको लेनदेन व्यवहार खुकुलो हुन नसकेकोमा चिन्ता ब्यक्त गर्दै राजविराज हटियामा अवरुद्ध भवन तत्काल पूरा गरि तरकारी तथा माछा हाट व्यवस्थित गर्नुपर्ने माग गरिएको छ ।
यसैगरी, नगर क्षेत्रका अधुरा सडक तथा नाला निर्माणका योजनाहरु अलपत्र परेकाले सो निर्माण कार्य अगाडि बढाउनुपर्ने, गजेन्द्र स्मारक चोकको पुर्न निर्माण तथा उद्यान व्यवस्थापन गर्नुपर्ने, राजविराज नगरपालिकाको सलाना बजेट नगरवासीले किन थाहा नपाएको भन्दै सो अविलम्ब गर्नुपर्ने, अधुरो बसपार्क अविलम्ब सञ्चालन गर्नुपर्ने तथा छाडा पशु चोपायाहरुलाई व्यवस्थित गर्नुपर्ने माग ज्ञापनपत्र मार्फत गरिएको छ ।
Sponsored
त्यस्तै स्वास्थ्य सेवा तथा सुबिधाको विस्तार, स्वास्थ्य बिमा कार्य तथा शेक्षिक गुणस्तरको सुधार सम्बन्धि कार्य शुभारम्भ हुनुपर्ने, आर्थिक बर्ष सकिन १ महिना मात्रै बाँकी रहेकोमा पुजिगत खर्च १७ प्रतिशत मात्र हुन सक्नु राजविराज नगरपालिकाको विकासको दृष्टिले निकै दुखद भएकाले सो सुधार गर्नुपर्ने तथा सरकारले तोकिएको ऐन कानुन अनुरुप खुला प्रतिस्पर्धाको माध्यमबाट मात्र कर्मचारीको पदपूर्ति गर्नुपर्ने लगायतका मागहरु अघि सारी ज्ञापनपत्र बुझाएको छ ।
उक्त ज्ञापनपत्र बुझाउने क्रममा लोसपा नेपालका केन्द्रीय नेताहरु जय प्रकाश ठाकुर , गजेन्द्र मण्डल, राजविराज नगरपालिकाका पुर्व मेयर शम्भु यादव, पुर्व उपमेयर साधना झा, जिल्ला अध्यक्ष सुनिल झा, मनोज झा, गुड्डु देव लगायत वडाअध्यक्ष समेतको उपस्थिति रहेको थियो ।