टुडेपाटी–
काठमाडौँ, जेठ १३ गते ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको तालिका सार्वजनिक भएको छ । जस अनुसार प्रधानमन्त्री प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने भएका छन्।
भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा उनी जेठ १७ गते भारत जान लागेका हुन्।
प्रधानमन्त्री बनेपछि प्रचण्डले पहिलो विदेश भ्रमण भारतमा गर्न लागेका हुन्। उनी जेठ २० गते फर्किने तालिका छ।

भ्रमणको क्रममा उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, उपराष्ट्रपति जगदीप धनकर र प्रधानमन्त्री मोदीसँग वार्ता गर्ने तालिका छ।
मोदीसँग जेठ १८ गते वार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।
उनीहरूबीच भारत र नेपालबीच द्विपक्षीय साझेदारी गर्न विभिन्न क्षेत्रमाथि छलफल हुनेछ। मन्त्रालयका अनुसार वार्तापछि उनीहरूले संयुक्त रूपमा पत्रकार सम्मेलन पनि गर्नेछन्।
त्यसपछि दुई प्रधानमन्त्रीले लन्च समेत गर्ने तालिका छ।
परराष्ट्र मन्त्रालयका अनुसार नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघले नयाँ दिल्लीमा आयोजना गरेको नेपाल–भारत व्यापार समिटमा पनि प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने छन् ।
त्यसपछि भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्माको आयोजनामा भारतमा रहेका नेपाली समुदायसँग पनि छलफल गर्ने कार्यक्रम छ।
यस्तै उनी भारतको मध्यप्रदेशको उज्जैन र इन्दौरको भ्रमण पनि गर्नेछन् ।