TodayPati

मधेश सरकार विस्तार हुँदा गठबन्धन दुई कित्तामा विभाजित

टुडेपाटी-
जनकपुरधाम, जेठ १०
गते ।

मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार चौथो पटक मन्त्री परिषद विस्तार गर्दा गठबन्धनमा चिरा परेको छ । नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीलाई सरकारमा ल्याएर मन्त्री परिषद विस्तार गर्दा गठबन्धन दुई कित्तामा विभाजित भएको हो ।

सरकारमा जसपा, काँग्रेस र एकीकृत समाजवादी एकातर्फ उभिएको छ भने जनमत, नेकपा माओवादी केन्द र लोसपा अर्को तर्फ । काँग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादव भौतिक पूर्वाधार विकास, बिरेन्द्र सिंह स्वास्थ्य तथा जनसंख्या र एकीकृत समाजवादी संसदीय दलका नेता गोबिन्द बहादुर न्यौपाने भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बनेका छन् ।

Sponsored

मंगलबार दिउँसो १ बजे मधेश भवनको कवर्ड हलमा नवनियुक्त तीन मन्त्रीको शपथको तयारी थियो । त्यसै बेला मनपरी ढंगले मुख्यमन्त्री यादव सरकार विस्तार गर्न लागेको भन्दै असन्तुष्ट माओवादी केन्द्रले सरकारबाट बाहिरिने नै निर्णय गर्न पुग्यो । सरकारमा उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री रहेकी सुनिता यादव र राज्यमन्त्री रहबर अंशारीलाई फिर्ता बोलाउने निर्णय माओवादी केन्द्रले गरेको छ ।

गठबन्धनमा केन्द्रमा भएको सहमति विपरीत साना दललाई पेलेर मुख्यमन्त्रीले सरकार विस्तार गरेकाले माओवादी केन्द्रले सरकारबाट बाहिरिनै निर्णय गरेको दलका नेता भरतप्रसाद साहले बताए । उनले यस विषयमा मौखिक जानकारी मुख्यमन्त्री यादव र पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डलाई समेत दिएको बताए ।

सरकार विस्तार हुँदा माओवादी केन्द्र, जनमत र लोसपा नेताले शपथग्रहण नै बहिस्कार गरेका छन् । मुख्यमन्त्रीले गठबन्धनको सहमति र भावना विपरीत मन्त्री परिषद विस्तार गरेको भन्दै तीनै दल छुट्टा छुट्टै तथा संयुक्त बैठक बसेर कसरी अघि बढ्ने विषयमा छलफल समेत गरेका छन् ।
तीन दल संयुक्त बैठक बसेर मुख्यमन्त्रीको यो कदमको भत्र्सना गरेको छ । ‘तीनलको बैठकले चोरबाटोबाट मुख्यमन्त्रीले गरेको सरकार विस्तार र शपथग्रहण प्रति गम्भीर आपत्ति प्रट गरिएको छ । सरकारको यो काम गठबन्धनको मर्म र भावना विपरीत हो । त्यसैले सरकारको गलत क्रियाकलापको विरोध गर्दै अघि बढ्ने निर्णय भएको छ’ माओवादी केन्द्र संसदीय दलका नेता साहले भने । उनका अनुसार अब नयाँ ढंगले कसरी अघि बढ्ने विषयमा तीन दल पुनः बसेर ठोस धारणा बनाउने छ ।

Sponsored

नेताहरुका अनुसार गत शुक्रबार बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दहालको अगुवाइमा केही बुँदामा सहमति भएको थियो । जसपाका नेतृत्वको सरकारलाई निरन्तरता दिने, तर सबै मन्त्रालय खाली गराएर नयाँ किसिमले सम्मानजनक रुपमा बाँडफाड गर्ने, सरकारको न्युनतम साँझा कार्यक्रम बनाउने, नीति तथा कार्यक्रम लगायतको विषय गठबन्धन भित्र सर्वसहमति गरेर अघि बढ्ने सहमति भएको थियो । जसको लागि सोबार बैठक बसेको थियो । तर सोमबार निश्कर्षबिहीन बन्दा मंगलबार पुनः बसेर टुग्याउने कुरा भएको थियो । तर मुख्यमन्त्रीले बैठक नडाकेर मनपरी गरेको लोसपाका सांसद उपेन्द्र महतो बताउँछन् ।

यता आफूले पाएको भूमिव्यवस्था कृषि तथा सहकारी मन्त्रालय खोसेर एकीकृत समाजवादीलाई दिँदा जनमत चिढिएको छ । सुरुमा जनमत सरकारमा सहभागी हुँदा उसको दोश्रो रोजाइँको मन्त्रालय कृषि थियो । पहिलो रोजाइको समाजिक विकास मन्त्रालय जसपाले आफै लिएर शिक्षा विज्ञान प्रविधि तथा बाणिज्य मन्त्रालय जनमतलाई दिएको थियो । महत्वपूर्ण कृषि मन्त्रालय जनमतका उपाध्यक्ष वसन्त कुशवाहाले सम्हालेका थिए । मन्त्रालय खोसिएर विना विभागीय मन्त्री कुशवाहालाई बनाएपछि जनमत अब सरकार छाड्ने स्थितिमा पुगेको छ ।

‘मुख्यमन्त्रीले बिना सल्लाह मन्त्राय खोस्नु ठीक भएन । गठबन्धनको सरकार छ भने सबैको भावना बुझेर कुनै निर्णय गर्नुपथ्र्यो । स्पष्ट बहुमत कुनै दलको नभएकाले मुख्यमन्त्रीजीले जे मन लाग्यो, त्यही गर्न पाउनु हुन्न नि !’ जमतका संसदीय दलका नेता महेश यादवले भने ।
सरकारमा बस्ने की छाड्ने विषयमा आजको संसदीय दलको बैठकमा समेत छलफल भएको छ । घटनाको विषयमा जानकारी गराएर जनमत केन्द्रको निर्देशन कुरेर बसेको छ । ‘केन्द्रको पदाधिकारी बैठकमा यस विषयमा ब्रिफिंग भयो । प्रधानमन्त्रीजीसंग छलफल हुन्छ । केन्द्रको डिसिजन अनुसार बस्ने वा छाड्ने टुंगो लाग्छ’ मन्त्री कुशवाहाले भने ।

केन्द्रमा भएको निर्णय विपरीत जाँदा मुख्यमन्त्री सरकमार विस्तार गर्दा लोसपा सरकारमा सहभागी नभएको संसदीय दलका नेता अभिराम शर्मा बताउँछन् । ‘शीर्ष नेतृत्व तहमा भएको सहमति र गाइडलाइन अनुसार सरकारले अघि बढ्नु पर्छ । अब लोसपाले के गर्ने विषयमा पुनः छलफल गर्छौ’ शर्माले भने । लोसपाले सम्मानजक रुपमा दुई मन्त्रालयको दावी गर्दै आएको छ ।
मधेश सरकारबाट एमाले चैत २२ गते निस्किदा उसले छाडेको चार मन्त्रालय खाली थियो । माओवादी केन्द्रले थप एउटा मन्त्रालय पाउनु पर्ने अडानमा छ । काँग्रेस पछि दुईवटा मन्त्रालय वा एक मन्त्रालय र सभामुख पाउने गरी तत्काल दुई मन्त्रालयसहित सरकारमा सहभागी भएको नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरेन्द्र सिंहले बताए ।

मधेश सरकारमा गठबन्बधनमा काँग्रेसको २२, जसपाको १८, जनमतको १३, माओवादी केन्द्र र लोसपाको ९–९ र एकीकृत समाजवादीको ७ सिट छ । एकीकृत समाजवादीले एक मन्त्रालयमा चित्त बुझाएर सरकारमा सहभागी भएको छ । मधेश सरकारमा एक मुख्यमन्त्री कार्यालय ११ मन्त्रालय छ ।
चौथो पटक मुख्यमन्त्री सरोज यादवले सरकार विस्तरा गर्दा समेत पूर्णता पाउन सकेन । माओवादी, जनमत र लोसपा बिजकिँदा मुख्यमन्त्रीलाई सरकारको पूर्णता दिन सकस छ । तर मुख्यमन्त्री सरोज यादवले अबको एक हप्ता भित्र सरकारको पूर्णता दिने बताउँछन् ।
‘जनमतको एक मन्त्रीलाई मात्रै नभएर जसपाको एक मन्त्रीलाई विना विभागीय गरिएको छ । एक हप्ता भित्र सरकारले पूर्णता पाउँछ ।’ मुख्यमन्त्री यादवले भने ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *