दुबै खुट्टा नभएका बुढामगर सगरमाथा चढेर गरे विश्व रेकर्ड कायम
टुडेपाटी-
जनकपुरधाम, जेठ ७ गते ।
दुबै खुट्टा नभएका हरि बुढामगरले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर विश्वकीर्तिमान कायम गरेका छन् ।
पूर्वब्रिटिस गोर्खा सैनिक बुढामगरले यही जेठ ५ गते दिउँसो ३ बजे सगरमाथाको चुचुरोमा पुग्न सफल भएका हुन् ।
योसंगै पूर्वगोर्खा सैनिक बुढामगर सगरमाथाको चुचुरो चुम्ने पहिलो ‘डबल एम्प्युटी एभोब नी’ व्यक्तिको विश्व रेकर्ड कायम गर्न सफल भएका छन् ।
कृत्रिम खुट्टा(प्रोस्थेटिक)को सहायताले बुढामगरले सगरमाथा आरोहण गरेका हुन् । झण्डै पाँच वर्षको प्रयासपछि बुढामगरले सगरमाथाको सफल आरोहण गरे । रोल्पाको थबाङ गाउँपालिकाको मिरुल घर भएका बुढामगरले ब्रिटश सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा आफ्ना दुवै खुट्टा घुँडाभन्दा माथिबाट गुमाएका थिए ।
बुढामगरले बेलायती सेनाको गोर्खा रेजिमेन्टमा १५ वर्ष सेवा गरेका थिए । बेलायती सेनामा भर्ना हुनुअघि सगरमाथा आरोहण गर्ने उनको सपना थियो । सगरमाथाको चुचुरोमा पुगेपछि बुढामगरले खुसीका साथ जोडले चिच्चाउँदै भनेका थिए, ‘हामी सफल भयौं ।’
Sponsored