सयौँलाई पार्टी प्रवेश गराउँदै मन्त्री यादवले भने-सबैलाई शुद्ध खानेपानी उपलब्ध गराउन लागिपरेका छौँ
एसपी यादव
सर्लाही, जेठ ६ गते ।
संघीय सरकारका खानेपानी मन्त्री महिन्द्र राय यादवले जनतालाई शुद्ध खानेपानी उपलब्ध गराउन आफुले लागि परेको दावी गरेका छन् ।
शनिवार सर्लाहीको पर्सा गाउँपालिकामा आयोजित वृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँच तथा स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हकको व्यवस्थालाई उच्च प्राथमिकता राखेर आफुले जनताको हितमा काम गर्न लागि परेको बताए ।
मन्त्री यादवले खानेपानीको शुद्धताको सवालमा कसैसंग कुनै प्रकारको सम्झौता नगर्ने प्रतिबद्धता समेत जनाए ।
दिगो विकास लक्ष्य अन्तर्गत खानेपानी तथा सरसफाइको क्षेत्रलाई विषेश प्राथमिकता राखेर नेपाली जनतालाई सुरक्षित खानेपानी र सरसफाइको पहुँचमा ल्याउन आफुले काम गरिरहेको उनले बताए । राजनैतिक प्रसंगमा बोल्दै मन्त्री यादवले उत्पीडन र विभेदमा परेका समुदायको न्याय, अधिकार, विकास तथा स्वाभिमानको लागि हिमाल, पहाड र मधेसलाई जोड्ने पार्टी नेपाल समाजवादी पार्टी रहेको बताए ।
Sponsored
संविधान, लोकतन्त्र, पहिचान र अधिकारको रक्षा, समानुपातिक, समावेशी प्रतिनिधित्व र संविधान संशोधनका निम्ति नेसपाले राज्यसंगको लडाइ जारी राखेको उनको भनाई थियो ।
सत्तारुढ गठबन्धनको सरकारले संविधानमा रहेका त्रुटिहरु सच्याउने देखि देश, जनता र लोकतन्त्रको पनि रक्षा हुनेगरि काम गर्ने मन्त्री यादवले ठोकुवा गरे ।
उक्त कार्यक्रममा पर्सा गाउँपालिकाका पुर्व अध्यक्ष एवं नेकपा एमाले पार्टीको तर्फबाट गत निर्वाचनमा सर्लाही क्षेत्र नम्बर २ को (क) बाट प्रदेशसभा सदस्य पदमा चुनाव लडेका किशुन देव यादव सहित १३० जना भन्दा बढी व्यक्ति विभिन्न पार्टी परित्याग गरि नेसपा प्रवेश गरेका थिए । मन्त्री यादवले उनीहरुलाई पार्टी प्रवेश गराए ।
मन्त्री यादवलाई सर्लाहीमा हरिपुर्वा नगरपालिका र पर्सा गाउँपालिकामा पार्टीका नेता तथा कार्यकर्ताहरुले भव्य स्वागत गरेका थिए ।