रेशम चौधरीको जन्मकैदको फैसला सर्वोच्चद्वारा सदर
टुडेपाटी–
काठमाडौँ, जेठ २ गते ।
कैलालीको टिकापुरमा २०७२ सालमा भएको नरसंहारका प्रतिवादी रेशमलाल चौधरीलाई सर्वोच्च अदालतले सफाइ दिन अस्वीकार गरेको छ ।
मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले यसअघि चौधरीलाई उच्च अदालतले गरेको जन्मकैदको फैसला सदर गरेको छ ।
टिकापुर घटनामा मुछिएका सीताराम चौधरी र गंगाराम चौधरीलाई भने अदालतले सफाइ दिएको छ ।
यस्तै लक्ष्मण थारुको हकमा ५ वर्षको कैद सजाय घटाएर ३ वर्ष कायम गरिएको छ ।
यसअघि कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलले टिकापुर घटनामा दोषी ठहर गरेपछि रेशमलाल चौधरी अहिले कारागार कार्यालय डिल्लीबजारमा कैद सजाय भुक्तान गरिरहेका छन् ।
Sponsored
प्रतिवादी चौधरी लगायत १४ जना प्रतिवादीको तर्फबाट सफाइ पाउनुपर्ने भन्दै बहस भएको थियो । प्रतिवादीतर्फका अधिवक्ताहरुले घटना राजनीतिक भएको कारण राजनीतिक तबरबाटै हल गर्नुपर्ने र घटनामा संलग्न नभएका व्यक्तिहरुलाई मुछिएको भन्दै उनीहरुलाई सफाइ दिनुपर्ने माग गरिएको थियो ।
जवाफी बहसमा सरकारी वकिलका तर्फबाट घटनाको योजनाकार रेशमलाल चौधरी र लक्ष्मण थारु नै रहेको जिकिर गरिएको थियो ।
यस्तै अन्य व्यक्तिहरुको संलग्नतामा घटना गराइएको भन्दै उनीहरुलाई हदैसम्मको सजाय हुनुपर्ने र कैलाली जिल्ला अदालत तथा उच्च अदालत दिपायलको फैसला सही भएको बहस गरिएको थियो ।
थरुहट आन्दोलनको क्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ प्रहरी र एक बालकको मृत्यु भएको थियो ।