नक्कली शरणार्थी प्रकरणमा जोसुकैलाई कारबाही गर्न राप्रपाको माग
टुडेपाटी-
काठमाडौं, बैशाख २९ गते ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जोसुकैलाई कारबाहीको दायरामा ल्याउन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले माग गरेको छ ।
शुक्रबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेनलगायतका नेताहरु सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरेका हुन् ।
राप्रपाले बुझाएको ज्ञापनपत्रमा भनिएको छ, ‘ राष्ट्रिय प्रजातन्त्र पार्टी यस प्रकरणलाई कुनै पनि कुनै पनि बाहानामा लम्ब्याएर अलपत्र पार्ने कोशिसको विरुद्धमा छ।तसर्थ अहिलेको छानबिन कार्यलाई निरन्तरता दिँदै नेपाल प्रहरीलाई स्वतन्त्र, निष्पक्ष र दवावरहित वातावरणमा काम गर्न दिन र जोसुकैलाई कारबाहीको दायरामा ल्याउन राष्ट्रिय प्रजातन्त्र पार्टी जोडदार माग गर्दछ।’
पार्टीले छानबिनमा दोषीलाई उम्काउन खोज्ने कुनै पनि योजना र चलखेलविरुद्ध सदन र सडकबाट आन्दोलन गर्न पछि नहट्नेसमेत प्रतिबद्धता जनाएको छ ।
साथै राप्रपाले विगतका ठुल्ठूला भ्रष्टाचार काण्डका फाइलहरु खोल्न र २०४६ पछिका सबै उच्च पदस्थ नेता कर्मचारीको सम्पत्ति छानबिन गर्नसमेत माग गरेको छ ।
Sponsored