मधेश प्रदेश : स्थानीय तहमा हाजिर भएकै दिन प्रमुख प्रशासकीय अधिकृतको सरुवा
टुडेपाटी–
सर्लाही, बैशाख २० गते ।
सर्लाहीको हरिपूर्वा नगरपालिकामा हाजिर भएकै दिन एक जना प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको छ ।
गत आइतबार मात्रै कार्यालयमा हाजिर भएका शम्भुप्रसाद यादवको हाजिर भएकै दिन सरुवा भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वैशाख १४ गते चलानी नम्बर १६९५ को पत्र अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेश प्रदेशमा कार्यरत शाखा अधिकृत यादवलाई हरिपूर्वाको प्रमुख प्रशासकीय अधिकृत पदमा खटाइएको उल्लेख छ ।
यादव फेरि सोही स्थानमा यथावत् रहने गरी आइतबार चलानी नम्बर १७०७ बाट परिपत्र पठाइएको छ । नगरपालिका प्रमुख प्रशासकीय अधिकृतबिहीन हुँदा विकास निर्माण र प्रशासनिक काम ठप्प रहेको छ ।
एक महिना धाएर मेयर विनोद साह तेलीले यादवलाई हरिपूर्वामा प्रमुख प्रशासकीय अधिकृत बनाएर ल्याएका थिए । तर, सर्लाहीका सांसद समेत रहेका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री महिन्द्रराय यादवले प्रमुख प्रशासकीय अधिकृत यादवको ३ दिनमै सरुवा गराइदिएको पाएको छ ।
Sponsored
हरिपूर्वा नगरपालिकाको मेयरमा कांग्रेसबाट निर्वाचित विनोद साह तेलीसँग बहुमत छैन ।