आज विश्व प्रेस स्वत्रन्त्रता दिवस मनाइँदै, जनकपुरमा प्रभातफेरी
टुडेपाटी-
जनकपुरधाम, बैशाख २० गते ।
आज मे ३ अर्थात आज विश्व प्रेस स्वतन्त्रता दिवस । पूर्ण प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित गर्न तथा प्रेस स्वतन्त्रता नखोसियोस भन्ने उदेश्यसहित बिभिन्न कार्यक्रम गर्दै नेपालसहित विश्वभर मनाइँदै छ ।
‘स्वतन्त्र एवम बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा आज विश्वभरी प्रेस स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम गरी मनाउन लागिएको हो । संयुक्त राष्ट्र संघीय निकाय युनेस्कोको आयोजनामा नामिबियाको विन्डहक शहरमा भएको पत्रकारहरुको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ जारी गरेको थियो ।
सोही घोषणा पत्र जारी गरेको दिनको सम्झनामा सन् १९९३ देखि हरेक बर्ष यो दिवस पत्रकारहरुले उत्सवको रुपमा मनाउँदै आएका छन् । संयुक्त राष्ट्रसंघले यो दिवस मनाउने निर्णय गरेसँगै नेपालले पनि मे ३ का दिनमा विश्व प्रेस स्वतन्त्रता दिवस मनाउँदै आएको छ ।
नेपाल पत्रकार महासंघ धनुषा शाखाले आज बिहान जनकपुरधाममा प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ । धनुषा शाखाकी अध्यक्ष मनिका झाको नेतृत्वमा निस्केको प्रभातफेरी जनकपुरधामको विभिन्न भागको परिक्रमा गरी पुनः पत्रकार महासंघमा पुगेर सम्पन्न भएको हो ।
Sponsored