TodayPati

घर भत्काएपछि मिर्चैया बजारका पीडित न्यायका लागि गुहारे प्रधानमन्त्री

टुडेपाटी-
जनकपुरधाम, बैशाख १९ गते ।

नगरपालिकाले घर भत्काइदिएपछि पीडित बनेका सिरहाको मिर्चैया बजारका स्थानीयवासीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग न्यायका लागि अपिल गरेका छन् । करिब दुई महिनादेखि निरन्तर आन्दोलनमा रहेका मिर्चैया बजारका स्थानीयवासी मंगलबार सिंहदरबारमा प्रधानमन्त्री दाहाललाई भेटेर न्याय निसाफका लागि अपिल गरेका हुन् ।

उनीहरूले गाउँब्लक क्षेत्रमा पर्ने बजारका घरहरू नगरपालिकाले तोडफोड गरेको भन्दै आफूहरूलाई क्षतिपूर्ति दिलाई गलत कार्य गर्नेहरूलाई कारबाहीको माग गर्दै निवेदन बुझाएका छन् । पीडितहरूले आफूहरूलाई तत्काल लालपुर्जा उपलब्ध गराउन पनि माग गरेका छन् ।

Sponsored

पुस्तौँदेखि बसोबास गरी आएको हकभोग तथा स्वामित्वसँग सम्बन्धित प्रमाणहरू भएका घर गैरकानुनी तरिकाले भत्काई बेघर बनाएर अत्याचार गरिएको उनीहरूको गुनासो छ । निवेदन बुझ्दै प्रधानमन्त्री दाहालले स्थानीयवासीलाई चाँडै समस्याको समाधान दिने आश्वासन दिएका छन् ।

प्रधानमन्त्री दाहालले मातहतका निकायसँग बुझेर समस्याको समाधान निकाल्ने र दोषीलाई कारवाही पनि पीडितलाई आश्वासन दिएका हुन् । नगरपालिकाले संघीय सरकारले राजपत्रमा निकालेको सूचनालाई बेवास्ता गरी घर तोडफोड गरेको पनि उनीहरूले प्रधानमन्त्री दाहाललाई बताएका थिए ।

२०७५ पुष २३ गते भूमिसुधार मन्त्रालयले गाउँब्लकका जग्गा नापजाँचका लागि सूचना निकालेको थियो । तर, नगरपालिकाले संघीय सरकारको निर्णय नमानेर कुतर्क गर्दै आएकोसमेत उनीहरूले प्रधानमन्त्रीलाई बुझाएको निवेदनमा भनेका छन् ।

Sponsored

पीडितहरूले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भूमि व्यवस्थामन्त्री रंजिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलगायतसँग पनि भेट गरी न्यायका लागि माग गरेका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *