TodayPati

टुडेपाटी-
जनकपुरधाम, बैशाख १५ गते ।

जनकपुरधामको साविक भानुचोकमा फेरि आदि कवि भानुभक्त आचार्यकै सालिक स्थापना गर्न खोजेको भन्दै विद्यार्थी तथा युवा संगठनहरुले आन्दोलनको चेतावनी दिएका छन् । साविक भानुचोकमा रहेको भानुभक्तको शालिक २०६२।०६३ को मधेश आन्दोलनको क्रममा भत्काइएको थियो । सो चौकको नाम मधेश आन्दोलनका प्रथम सहिद रमेश महतो चौक हुने घोषणा गरिएको थिो । तर त्यस प्रतिमा स्थापन गरिएको छैन ।

जनकपुरधाम उपमहानगर पालिकाले पुनः त्यहाँ आदि कवि भानुभक्तकै सालिक स्थापना गर्न लागेपछि मधेशवादी दल सम्वद्ध युवाहरु विरोधमा उत्रेका हुन् । संयुक्त युवा विद्यार्थी मोर्चाले शुक्रबार संयुक्त विज्ञप्ती जारी गर्दै रमेश महतो चौकमा पुनः भानुचोकको सालिक बनाए आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएका छन् ।

‘जनकपुरधाम उपमहानगरपालिकाले रमेश महतो चौकमा तत्कालीन भानु भक्तको नाममा रहेको भानु चौकलाई पुनः रमेश महतो चौक को सट्टा भानु चौक निर्माण गरी भानु भक्तको सालिक स्थापना गर्ने योजना रहेको मा हाम्रो गंभिर ध्यानाकर्षण भएको छ’, विज्ञप्तीमा अगाडि लेखिएको छ ‘अतः मधेश आन्दोलनको मर्म, भावना विपरीत रमेश महतो चौकलार्इ विस्थापित गर्ने कार्य भएमा हामी संर्घष गर्न बाध्य हुने छौ ।’

यस प्रकारका कामलाइ अविलम्ब रोकी रमेश महतोको नाममा सालिक निर्माण प्रक्रिया अगाडी बढाउन संयुक्त युवा विद्यार्थी मोर्चाले माग गरेका छन् । लोकतान्त्रिक विद्यार्थी युवा संघका धनुषा जिल्ला अध्यक्ष प्रशान्त झा, समाजवादी युवा संघका अध्यक्ष दिपु कापड, लोकतान्त्रिक विद्यार्थी संघ मधेश प्रदेश कार्यवाहक अध्यक्ष त्रिदेव कुमार मिश्र, विद्यार्थी जनमत संघ धनुषा अध्यक्ष बिरेन्द्र यादव, समाजवादी युनियन धनुषा अध्यक्ष बलिराम कापडले हस्ताक्षर गरी संयुक्त विज्ञप्ती जारी गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *