उपचुनावले ठूला पूराना दललाई सच्चिन सन्देश दिएको छ : माधव नेपाल
टुडेपाटी-
जनकपुरधाम, बैशाख १५ गते ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले उपनिर्वाचनले ठूला र पुराना राजनीतिक दललाई सच्चिन सन्देश दिएको बताएका छन् । जनकपुरधाममा शुक्रबार समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकारसम्मेलनमा उनले यस्तो कुरा बताएका हुन् ।
‘उपनिर्वाचनको परिणामले ठूला दलहरूकालागि शुभ संकेत होइन, अब पनि नसच्चिए ती दलहरूकालागि आउने दिन सहज हुनेवाला छैन।’ उनले भने । उनले राजनीतिमा गुण्डातन्त्र हावी हुँदै गइरहेकाले राजनीतिक दलका नेताहरूप्रति प्रश्न खडा भएको बताए।
लडाकुलाई रकम दिनेबारे प्रधानमन्त्रीले सत्ता गठबन्धनमा आवद्ध दलहरूलाई प्रष्ट पार्नुपर्ने बताएका छन् ।
नेपालले लडाकुलाई रकम दिनेबारे आफूले प्रधानमन्त्रीलाई सोधेको बताए । ‘लडाकु वा अरु कोही पीडितलाई रकम दिँदै जाने तरिका पनि ठिक होइन’ उनले भने, ‘मैले यो कुरा प्रधानमन्त्रीजीलाई भनेको थिएँ । उहाँले नयाँ रकम हामीले दिएको छैन भन्नुभयो ।’
पैसा बाँड्दै हिंड्ने अभ्यासले मुलुकमा राम्रो परिपाटी नबस्ने उनले बताए । ‘यसरी पैसा बाँड्दै हिंड्ने हो भने एकातिर अहिले राज्यको आर्थिक अवस्था राम्रो छैन । राम्रो भए पनि परिपाटी राम्रो बस्दैन’ उनले भने, ‘के भएको हो भन्ने बारेमा घटक दलहरूबीचमा प्रष्ट पार्नुपर्ने आवश्यकता छ ।’
Sponsored
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लडाकुलाई रकम दिने पुरानै निर्णय भएको बताएको उनले जानकारी दिए । ‘मैले नयाँ निर्णय गरेको होइन, पुरानै निर्णय हो, नयाँ रकम होइन’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै नेपालले भने, ‘पहिले दिन बाँकी रकम दिइएको हो ।’
नेपालले यसबारेमा आफूले धेरै कुरा पत्ता लगाउन नसकेको र थाहा नभएको विषयमा धेरै बोल्न नहुने बताए ।
एक फरक प्रसंगमा नेपालले अर्थतन्त्रको अहिलेको अवस्थाको लागि कुनै पार्टी विशेषलाई दोष नदिने बताए । आर्थिक अवस्था बिग्रनुमा अन्तर्राष्ट्रिय कारण प्रमुख भएको उनको तर्क थियो ।