भारतमा नक्सलवादीको आक्रमणमा १० जना प्रहरी मारिए
एजेन्सी –
जनकपुरधाम, बैशाख १४ गते ।
भारतको छत्तीसगढ राज्यस्थित दन्तेवाडा जिल्लामा बुधबार नक्सलवादीको आक्रमणमा परेर १० जना प्रहरी मारिएका छन्।
नक्सलवादीको आक्रमणमा डीआरजी (जिला रिजर्भ गार्ड) का १० जना जवान मारिएका हुन्। यो घटनामा एकजना ड्राइभर पनि परेका छन्।
जिल्लाको अरनपुर थाना क्षेत्रमा नक्सलवादीले प्रहरीको गाडीलाई एम्बुसमा पारेका थिए। सुरक्षाकर्मीको यो गाडी बर्षातका कारण फसेका अन्य सुरक्षाकर्मीको उद्धारमा जाँदै थिए।
यसक्रममा नक्सलवादीले हानेको घरेलु विस्फोटक पदार्थ ठूलो आवाजसहित पड्किएको थियो। विस्फोटमा पुलिस सवार गाडी हावामा उडेको थियो।
यो हमला दन्तेवाडा जिल्लाको अरनपुर थाना क्षेत्रमा अरनपुर-समेलीबीचको सडकमा भएको हो। यहाँ पुलिस र नक्सलवादीबीच मुठभेट पनि भएको छ।
Sponsored
यही क्रममा नक्सलवादीहरुले पुलिसको गाडीमा बम फ्याकेका थिए। ५० किलोको घरेलु बम विस्फोटपछि गाडी क्षतविक्षत भएको छ।
त्यसमा सवार प्रहरी जवानहरुको शव पनि टुक्रा टुक्रा भएको अवस्थमा पाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। विस्फोट भएको ठाउँमा १२ फिट गहिरो खाडल परेको छ।