जनक शिक्षा सामग्री केन्द्र मधेश प्रदेश कार्यालयले करिब ११ लाख पुस्तक वितरण गरिसक्यो
दिपेश कुमार चौधरी–
जनकपुरधाम, बैशाख १२ गते ।
जनक शिक्षा सामग्री केन्द्र मधेश प्रदेश कार्यालयले बैशाख दोस्रो सातासम्ममा करिब ११ लाख पुस्तक वितरण गरेको छ ।
यस शैक्षिक सत्रमा १६ लाख पुस्तक वितरण गर्ने लक्ष्य रहेकोमा त्यसको ७० प्रतिशतभन्दा बढी पुस्तक वितरण भइसकेको कार्यालय प्रमुख रुद्र खनालले जानकारी दिए ।
प्रत्येक वर्ष पुस्तकको अभाव हुँदै आएको यस वर्ष समयमै पुस्तक आइपुगेको छ । सामुदायिक विद्यालयहरुमा विद्यार्थी भर्ना अभियान सञ्चालन रहेको समय जनक शिक्षा सामग्री केन्द्रले समयमै पुस्तक वितरण गर्दा विद्यालयहरुमा पुस्तक पुगेको छ ।
मधेश प्रदेश कर्याालयले १६ लाख ३२ हजार पुस्तक वितरण गर्ने लक्ष्य लिएकोमा बैशाख ११ गतेसम्ममा १० लाख ८२ हजार २३४ पुस्तक वितरण गरिसकेको छ ।
सामग्री केन्द्रको मधेश प्रदेश कार्यालयले ओखलढुङ्गा, खोटाङ्ग, धनुषा, महोत्तरी, सप्तरी, उदयपुर, सिन्धुली, सिरहा, सर्लाही, रौतहट र पर्सा जिल्लामा पुस्तक वितरण गर्दै आएको छ ।
Sponsored
प्रमुख खनालका अनुसार पहिलो चरण अन्तर्गत चैत २६ गतेदेखि बैशाख ९ गतेसम्म र बैशाख १० गतेदेखि दोस्रो चरणमा पुस्तक वितरण सुरु गरिएको हो ।
प्रमुख खनालका अनुसार यस वर्ष पुस्तकमा कुनै समस्या छैन् । पुस्तक राख्ने गोदाम सानो रहेकाले त्यसअनुसार नै पुस्तक आइरहेको र वितरण भइरहेको उनको भनाई छ ।