बारा २ मा डा.सीके राउतको ‘स्वाभिमान यात्रा’ सुरु
टुडेपाटी-
जनकपुरधाम, चैत २६ गते ।
अगामी वैशाख १० गते हुने उपचुनाव नजिकिँदै गर्दा जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले स्वाभिमान यात्रा सुरु गरेका छन् । आइतबारबाट डा.राउतले बारा क्षेत्र नम्बर २ को उपनिर्वाचन केन्द्रीत स्वाभिमान यात्रा सुरु गरेका हुन् ।
चुनाव प्रचार–प्रसार केन्द्रीत उक्त यात्रामा जनमत पार्टीबाट बारा क्षेत्र नम्बर २ का उम्मेदवार शिवचन्द्र प्रसाद कुशवाहा र स्थानीय नेता तथा कार्यकर्ताहरु सहभागी रहेका छन् । उक्त यात्राको पहिलो दिन स्थानीयवासीहरुले डा.राउतलाई स्वागत गरेका छन् ।
जनमत पार्टीका नेता बीपी साहका अनुसार स्वाभिमान यात्रा बारा निर्वाचन क्षेत्र नम्बर २ को सम्पूर्ण पालिकाहरुमा हुनेछ ।
‘स्थानीय जनताको स्वभिमानको रक्षार्थ स्वाभिमान यात्रा सुरु गरिएको हो’नेता साहले भने,‘स्थानीय जनताको भावना र चाहना विपरीत पछिल्ला चुनावहरुमा बाहिरका उम्मेदवारहरु आएर चुनाव लड्ने गरेको देखिन्छ । त्यसकारण यसपटक स्थानीय जनताको स्वाभिमान रक्षाका लागि जनमत पार्टीले स्वाभिमान यात्रा निकालेको हो ।’
बारा २ मा बाहिरका नेताहरु गएर चुनावमा उठ्ने गरेको र चुनाव जितेपछि फरार हुने गरेको समस्याले गर्दा यस क्षेत्रमा विकास हुन नसकेको नेता साह बताउँछन् ।
‘बारा २ को विकासका लागि जनमत पार्टीले बारा २ कै नेतालाई उम्मेदवार बनाएको छ । आफ्नै गाउँघरको उम्मेदवार पाउँदा मतदाताहरु खुशी छन् ।’ नेता साहले भने,‘जनताको बिचमा नयाँ उत्साह देखिएको छ । जनताले आफ्नो क्षेत्रको विकासका लागि आफ्नै क्षेत्रका उम्मेदवार जिताउने नारा लगाउँदै हुनुहुन्छ ।’
उनका अनुसार २६ गते कोल्हवी र करैयामाई गाउँपालिकामा यात्रा भएको छ भने २७ गते करैयामाई, २८ गते सुवर्ण, २९ गते देवताल गाउँपालिकामा र अरु स्थानहरुमा समय निर्धारण गरेर स्वाभिमान यात्रा हुनेछ ।
Sponsored