TodayPati

महोत्तरीमा अज्ञात कारणबाट मृत्यु हुनेको संख्या १२ पुग्यो, दुइ मृतकको कोरोना रिपोर्ट नेगेटिभ

टुडेपाटी-
जनकपुरधाम, वैशाख २१ गते ।

महोत्तरीको भंगहा नगरपालिकामा अज्ञात कारणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ । आइतबार बिहान भंगहा नगरपालिका ७ हरकपुरका ५८ वर्षीय रुपनारायण सिंह दनुवारको मृत्यु भएसँगै मृतकको संख्या १२ पुगेको हो ।

यसअघि वडा नंं ७, ६ र बर्दिबास नगरपालिका वडा नं। १२ मा गरी एक दर्जन व्यक्तिको अज्ञात कारणले मृत्यु भएको थियो ।
वैशाख १६ गतेदेखि २१ गतेसम्म ५ दिनमा मात्र ११ जनाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय महोत्तरीका फोकल पर्सन गिरेन्द्रकुमार झाले जानकारी दिए।

Sponsored

मृत्यु हुनेमा भंगहा नगरपालिका वडा नं। ७ का सबभन्दा बढी ७ जना छन्। वैशाख १० गते रौतहट जिल्ला जुरिबेला घर भई भंगहा नगरपालिका ७ मोघरौल टोलमा बस्दै आएका महेन्द्र चौधरीको अज्ञात कारणले मृत्यु भएको थियो।

वैशाख १६ गते भंगहा नपा ७ मेघरौल टोलकै ४४ वर्षका पुरुष मोहन चौधरी, १७ गते सोही टोलका ५५ वर्षका लालबाबु सिंह र सोही वडाको मझौलिया टोलका ५५ वर्षीय नथुनी महराको मृत्यु भएको थियो।

यस्तै वैशाख १८ गते भंगहा ७ मझौलियाका ५७ वर्षीय सिकिन्दर सिंह र ५७ वर्षीय सुकदेव महराको मृत्यु भएको थियो भने वैशाख १९ गते भंगहा नगरपालिका वडा नं। ६ हतिसर्वाका ४८ वर्षीय पलट साहको मृत्यु भएको थियो।

Sponsored

भंगहा नगरपालिका ७ सँगै जोडिएको बर्दिबास नगरपालिका वडा नं १२ को अहिनाम टोलका ५५ वर्षीय गंगाराम सदाको वैशाख १६ गते मृत्यु भएको थियो भने १८ गते सोही वडाको जुरी टोलका ३० वर्षका सिकिन्दर मण्डल र ५५ वर्षया सोमनीदेव बातरको मृत्यु भएको थियो।

यस्तै वैशाख १९ गते शुक्रबार बर्दिबास नपा १२ जुरीटोलकै एक इँटाभट्टामा काम गर्ने मजदुर भारतको उत्तर प्रदेश, जिल्ला लखिमपुर, गोलाकेकरनाथ ग्राम पञ्चायत बस्ने ५५ वर्षका मोतीलाल प्रजापतिको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय महोत्तरीका फोकल पर्सन झाले जानकारी दिएका छन्।

कोरोना परीक्षणमा दुवै जनाको पीसीआर र आरडीटी रिपोर्ट दुवै निगेटिभ आएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए। उनीहरुको पोस्टमार्टम रिपोर्ट भने अहिलेसम्म नआएको उनले बताए।

मृतकमध्येका अधिकांशले नियमित मदिरा सेवन गर्ने गरेको पाइएकाले उनीहरुको मृत्यु पनि विषाक्त मदिराकै कारणले भएको हुन सक्ने आशंका गरिएको छ। तर, केही मदिरा नखानेको पनि मृत्यु भएपछि वास्तविक कारण खुल्न सकेको छैन।

अहिले स्वास्थ्य कार्यालय महोत्तरी, जिल्ला विपद् व्यवस्थापन समिति महोत्तरी, ईपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा काठमाडौं टेकु र डब्ल्युएचओको टोली त्यहाँ पुगेर के कारणले तिनीहरुको मृत्यु भएको होण् भन्ने विषयमा अनुसन्धान गरिरहेका छन्।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *