प्रदेश २ मा स्वास्थ्य महाशाखाको हालबेहाल
दीपक कर्ण-
जनकपुरधाम, माघ २३ गते ।
जनकपुरस्थित सामाजिक विकास मन्त्रालय मातहत रहेका स्वास्थ्य महाशाखाको हालबेहाल भएको छ । स्वस्थ्य, शिक्षित, सक्षम र उद्यमशिल नागरिक तयार गरि समृद्ध प्रदेशको निमार्णमा योगदान पुर्याउनु सामाजिक विकास मन्त्रालयको महत्वपूर्ण दायित्व हुन्छ । जनताको शिक्षा, स्वास्थ्य, खेलकुद लगायत मन्त्रालयसँग सम्बन्धित विभिन्न विषयको कानुनी नीति नियम मापदण्ड निमार्ण तथा कार्यान्वयन सबै यसै मन्त्रालयअन्तर्गत तोकिएको छ ।
यस मन्त्रालयको कार्यक्षेत्रभित्र रहेका विभिन्न विषयहरुको प्रदेशस्तरिय कानुन नीति मापदण्डहरुको निमार्ण गर्नुपर्ने भएकोले यो मन्त्रालयलाई यिनै विषयमा केन्द्रीत हुनुपर्ने आवश्यक देखिन्छ । तर, प्रदेश २ मा यसै मन्त्रालय मातहत रहेको स्वास्थ्य महाशाखाको हालबेहाल देखिएको हो ।
स्वास्थ्य महाशाखामा एकजना पनि कर्मचारी आफ्नो कार्यकक्षमा उपस्थित थिएनन् । जबकी स्वास्थ्य माहाशाखा प्रमुख डा. नवलकिशोर झाको अनुसार त्यहाँ सात जना कर्मचारीको दरबन्दी नै रहेको छ । तर, कार्यालय समयमा महाशाखा भित्र आफ्नो कार्यकक्षमा ती सात जना मध्ये क्षयरोग कुष्ठरोग विभागका एकजना कर्मचारी मात्र उपस्थित देखिएको थियो ।
कार्यालय समयमा महाशाखाका अन्य कर्मचारीहरु कहाँ रहेको सम्बन्धमा उनिसँग बुझ्न खोज्दा उनले कुनै कर्मचारी चिया खान गएको, कोहि महाशाखाको कामले फिल्डमा रहेको,कोहि तालीम गर्न गएको त कोहि आफ्नो व्यक्तिगत काममा गएको टुडेपाटीलाई जानकारी दिए ।
जबकी संसदको राज्य व्यवस्था तथा सुशासन समितिले साउन २१ गतेदेखि नै सरकारी कर्मचारीले कार्यालय समयमा नीजि काम गर्न नपाउने कानुनी व्यवस्था गरेको देखिएको छ । अफिस समयमा कामलाई व्यवस्थीत गर्न सरकारी कर्मचारीका लागि यस्तो निर्णय गरिएको थियो । तर, सोहि निर्णयलाई सरकारी कर्मचारीहरुले अहिलेसम्म पनि अटेर गरिरहेको महाशाखाको यस उदाहरणले प्रष्ट देखिन्छ । यहाँ कार्यरत कर्मचारीहरुले प्रदेशलाई नभई आफूलाई प्राथमिकतामा राखी काम कारबाहीहरू गर्ने गरेको देखिएको छ । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा पनि यस्तो दुरावस्था देखिनु जनताका लागि योभन्दा पनि ठूलो पीडा के हुन सक्छ, आफैँ अनुमान लगाउन सकिन्छ ।
Sponsored