मधेश प्रदेश : रक्सी खाएर मातेका प्रहरी सडकमा चेकजाँच गर्न थालेपछि…
टुडेपाटी-
जनकपुरधाम, फागुन २६ गते ।
सप्तरीमा एक प्रहरी जवान दिउँसै रक्सी पिएर सडकमा हंगामा गरेका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी जवान सञ्जिवकुमार रायले रक्सी सेवन गरी राजविराजको सडकमा हंगामा गरेका हुन् ।
शुक्रबार अपराहन्न ५ बजेतिर राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस अगाडि रक्सीको नशामा लठ्ठिएर सवारीचेकजाँच गर्न थालेका थिए । सो क्रममा स्थानीयले प्रतिकार गरेपछि उनी अर्धनग्न बन्दै गालीगलौज समेत गरेका छन् ।
जुन भिडियो अहिले अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
नशामा लठ्ठ उनी सर्ट फुकालेर अर्धनग्न छन्, स्थानीयसँग वादविवाद गरिरहेका छन् । हातमा डण्टा लिएर यताउत्ता दौडिरहेको प्रष्टै देखिन्छ । स्थानीयका अनुसार आज साँझ ५ बजेतिर उनले रक्सी सेवन गरी नशामा लठ्ठिएर सडकमा सवारी चेकजाँच गर्न थालेका थिए ।
त्यस क्रममा गालीगलौज गर्न थालेपछि स्थानीयले उनलाई रोकेका थिए। त्यसपछि उनले सर्ट फुकालेर सडकमै बडी देखाइरहेको देखिन्छ । उनको यो चाला हेर्न भीडै लागेको थियो ।
भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय सप्तरीले उनलाई कारबाही गर्ने तयारी गरेको छ । सप्तरीका प्रहरी उपरीक्षक नरेन्द्रकुमार कार्कीले आचरण विपरीत काम गरेकाले उनलाई निलम्बन गर्न लागेको बताए ।
Sponsored