मधेश प्रदेश : सूचना नदिने प्रशासकीय अधिकृतलाई १५ हजार रुपैयाँ जरिवाना
टुडेपाटी-
जनकपुरधाम, फागुन २६ गते ।
नागरिकलाई सूचना उपलब्ध नगराउने सप्तरीको कञ्चनरुप नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत रेणुका साह कारबाहीमा परेकी छन् ।
राष्ट्रिय सूचना आयोगले सूचना उपलब्ध नगराएको आरोपमा अधिकृत रेणुका शाहलाई कारबाही गरेको हो ।
उनलाई १५ हजार रुपैयाँ जरिवानासहित विभागीय कारबाही गर्न आयोगले आदेश दिएको आयोगका सूचना आयुक्त रत्नप्रसाद मैनालीले जानकारी दिए ।
आयोगका अनुसार सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ को उपदफा (१) बमोजिम १५ हजार रुपैयाँ जरिवाना गराएको हो ।
अधिकृत शाहले पटक पटक राष्ट्रिय सूचना आयोगको आदेशको बेवास्ता गर्दै आएकी थिइन् । सप्तकोसी नगरपालिका ११ निवासी कैलाश माझीले पटक पटक लिखित जवाफ माग गर्दा तथा सूचना उपलब्ध गराउन आदेश हुँदा पनि सूचना मागकर्ताबाट माग भएको सूचना उपलब्ध नगराएको आयोगको दाबी छ ।
Sponsored
यसअघि आयोगले सूचना उपलब्ध नगराउँने सिरहाको सिरहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवलाई १५ हजार रुपैयाँ जरिवाना र विभागीय कारबाही गरेको थियो ।