राष्ट्रपति निर्वाचन : मतगणना सुरु
टुडेपाटी-
काठमाडौँ, फागुन २५ गते ।
राष्ट्रपतिको निर्वाचनका लागि सम्पन्न भएको मतदानको मतगणना सुरु भएको छ । आज मतगणना नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा सुरु भएको हो ।
बिहिवार बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजे सकिएको थियो । मतगणनापछि आजै राष्ट्रपति निर्वाचनको प्रमाणपत्र प्रदान गरिने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ ।
मतदानमा ३१३ सङ्घीय सांसद र ५१८ प्रदेशसभा सदस्यले मतदान गरेका निर्वाचन आयोगले जनाएको छ ।
चौथो राष्ट्रपतिका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा (एमाले)का सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन् ।
पूर्व सभामुखसमेत रहेका पौडेल कांग्रेससहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टीको साझा उम्मेदवार हुन् ।
Sponsored
अर्का पूर्व सभामुख नेम्वाङलाई एमालेको साथ छ ।
राष्ट्रपतिको निर्वाचन सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचकमण्डलबाट हुन्छ ।
राष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्तर्फ तीन सय ३२ र प्रदेशसभा सदस्य पाँच सय ५० गरी कूल आठ सय ८२ मतदाता थिए ।
सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ ।