बटेश्वर गाउँपालिका : चुनावमा नदी दोहन बन्द गराउने प्रतिबद्धता, जितेपछि खोला ठेक्का
टुडेपाटी-
जनकपुरधाम, फागुन १८ गते ।
धनुषाको बटेश्वर गाउँपालिका अध्यक्ष रामअशिष महतोले चुनावी प्रतिबद्धता विपरीत खोला ठेक्का लगाउने निर्णय गरेका छन् । चुनावमा आफू जिते पालिका भित्रका नदी उत्खनन बन्द गराउने प्रतिबद्धता गर्दै मत मागेका उनी ३० वैशाखमा नेपाली काँग्रेसबाट चुनिए । तर वर्ष नबित्दै उनले जनतासंग गरेका वाचाविपरीत पालिका भित्रका खोलाबाट उत्खनन गराउन टेन्डर लगाउने निर्णय गरेका हुन् ।
गाउँपालिका कार्यालयले फागुन १५ गते नदीजन्य पदार्थको बिक्रीवितरणको लागि एक पत्रिकामा सूचना प्रकाशित गर्दै टेन्डर आह्वान गरेको हो । पालिका भित्र पर्ने बडहडी, सुकजोर र औरही खोलाबाट नदीजन्य पदार्थ ढुंगा, गिट्टी, बालुवा र ग्राइभेल उत्खनन गरी बिक्रीवितरण गर्न सूचना निकालेको छ ।
बिगतमा यसअघिका पालिका अध्यक्ष डम्बर बहादुर राउत क्षेत्री हुँदा पालिकाले नदी ठेक्का लगाउँदा चरम उत्खनन भएको थियो । ठेक्का सम्झौता विपरीत ठेकेदारले जनप्रतिनिधिसंग मिलेमतो गरी मापदण्ड विपरीत १५।२० फिट गहिरोसम्म खनेर गिट्टी बालुवा खन्दा स्थानीयले चर्को बिरोध गरेका थिए । त्यस बेला एक युवकमाथि खोला दोहन गर्ने समूहले ज्यानै लिने गरी आक्रमण गरेको थियो । जल्दाबल्दा मुद्दा उठाएर आफू निर्वाचित भए बन्द गराउने नारा तथा प्रतिवद्धता गरी जनताबाट मत लिएर चुनिएका पालिका प्रमखु महतो बितग दोहर्याउन खोजका छन् ।
उनले चुनावमा आफूले प्रतिबद्धता गरेपनि जनताको आफ्नो घर बनाउन गिट्टी बालुवा ल्याउँन समस्या भएकाले बाध्य भएर टेन्डर गरिएको तर्क गरे । ‘खोला ठेक्का लगाउने हाम्रो बाध्यता हो । जनताले एक ट्याक्टर गिट्टी बालुवा ल्याउँदा प्रहरी प्रशासनले समात्छ । जिल्ला समन्वय समितिले १० हजार जरिवाना गर्छ ’ पालिका प्रमुख महतोले भने ‘बिकल्प केही नदेखेपछि हामी ठेक्का लगाउने निर्णय गर्यौं ।’
धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दहालले ठेक्का नलगाएपनि पालिकाले कानुन बनाएर सर्वाजनिक काम वा व्यक्तिको उपभोगको लगि गिट्टी बालुवा झिक्न पाउने बताउँछन् । तर परिमाण अनुसारको राजश्व लिने गरी कानुन बनाउनु पर्ने उनको भनाइ छ ।
स्थानीयले भने खोला उत्खननमा राम्रो कमाई हुने भएकाले पालिका प्रमुखसहितका जनप्रतिनिधि त्यस तर्फ अग्रसर देखिएको बताउँछन् । प्रतिबिद्धा विपरीत खोला दोहनको लागि टेन्डर हुँदा रोक्नु पर्ने माग गर्दै पालिका प्रमुख महतोको आलोचना सुरु भएको छ ।
Sponsored