परिक्रमा आज ध्रुवकुण्ड पुग्दै, भोलि कञ्चनवनमा होली
टुडेपाटी-
जनकपुरधाम, फागुन १४ गते ।
१५ दिवसीय मिथिला माध्यमिकी परिक्रमा आज महोत्तरीको ध्रुवकुण्ड पुग्दै छ । छैठौं दिन महोत्तरीको मडै पुगेर रात्रि विश्राम गरेका परिक्रमामा सहभागी श्रद्धालुभक्तजन आज बिहानैदेखि ककै ध्रुवकुण्ढका लागि प्रस्थान गरेका हुन् ।
ध्रुवकुण्डमा आज रात्रि विश्राम गरेपछि भोलि बिहान कञ्चनवन प्रस्थान गर्ने छन् । कञ्चवनमा भोलि भव्य मेला लाग्ने छ । त्यहाँ होली कार्यक्रम हुने गर्छ। परिक्रमा यात्री एक अर्कालाई अविर लगाएर होलि खेलेर रात्रि विश्राम गर्ने छन् ।कञ्चनवनमा त्रेता युगमा भगवान् राम र सीता एक आपसमा होली खेलेको मान्यता छ ।
मंगलबार बिहान परिक्रमा क्रमशः धनुषाको पर्वता, धनुषाधाम, औरही, विशौल हुँदै पुनः कल्याणेश्वर र त्यसपछि पूर्णिमाका दिन जनकपुरधाम फर्कने छन् ।
जनकपुरमा फागु पूर्णिमाको दिन होलिका दहनपश्चात अन्तरगृह परिक्रमा गरी माध्यमिकी परिक्रमा समापन हुने गर्छ ।
नेपाल र भारतको सीमाक्षेत्रका जनताबीच सामाजिक तथा धार्मिक सद्भावका लागि अति नै महत्वपूर्ण मानिएको यो परिक्रमाको क्रममा नेपालका १३ र भारतका दुई गरी जम्मा १५ वटा विश्रामस्थलहरुमा परिक्रमाबासीले विश्राम गर्ने गर्छन् । जम्मा १ सय ३३ किलोमिटर पैदल यात्रा गर्ने परिक्रमाबासीहरु यस अवधिभरीको लागि आफ्नो गाँस, बास र कपासको व्यवस्था गरेर हिँड्छन् ।
फागुन ८ गते धनुषाको मिथिलाबिहारी नगरपालिकास्थित ठेरा कचुरी मठबाट भगवान राम र जनकपुरको अग्नीकुण्डबाट जानकीको डोलासहित परिक्रमा सुरु भएको थियो ।
परिक्रमाका सम्बन्धमा मिथिला महात्म्यमा चर्चा भएको पाइन्छ । मिथिला महात्म्य १८ औँ शताब्दीमा लेखिएको साधुसन्तहरु बताउँछन् । यस हिसाबले मिथिला मध्यमा परिक्रमा १८ औं शताब्दीभन्दा पहिले नै सुरू भएको अनुमान छ ।
Sponsored
परिक्रममा सहभागी हुँदा सुख, शान्ति र समृद्धि प्राप्त हुने जनविश्वास छ । चारधामको दर्शन गरे बराबरको फल प्राप्तीका लागि परिक्रममा सहभागी हुने गरेको साधुसन्तको भनाई छ ।