सीमावर्ती क्षेत्रमा जिप्रका धनुषाले कोरोनाभाइरस चेकजाँचका लागि हेल्पडेस्क सञ्चालन गर्ने
टुडेपाटी समाचारदाता-
जनकपुरधाम, माघ २३ गते ।
धनुषाको सीमावर्ती क्षेत्रमा जिल्ला प्रशासन कार्यालय धनुषाले कोरोनाभाइरसको चेकजाँचको लागि हेल्पडेस्क सञ्चालन गर्ने निर्णय गरेको छ ।
धनुषाको भारतीय नाकासँग ओहोर–दोहोर हुने प्रमुख नाकाहरुमा कोरोनाको निगरानी एवं चेकजाँचको लागि हेल्पडेक्स स्थापना गर्ने निर्णय गरिएको हो ।
धनुषाको जटही नाकामा जनकपुरधाम उपमहानगरपालिका, प्रादेशिक अस्पताल जनकपुर तथा सशस्त्र प्रहरीको सहयोगमा हेल्प डेस्क सञ्चालन गर्ने निर्णय गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जानकारी दिए ।
उनले भने, ‘जटही नाकाबाट ओहोर दोहोर गर्ने सर्वसाधारणहरुलाई उक्त डेस्कमा चेकजाँच गरिने छ ।’ धनुषाको सबै विद्यालयहरुमा कोरोनाभाइसर सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरु समेत गरिने कणेले बताए । बालबालिकाहरुलाई यसबाट बच्नको लागि प्रशिक्षण समेत दिइने निर्णय गरिएको कणेलको भनाइ छ । महोत्तरीको १३ स्थानमा हेल्पडेक्स राखिएको छ ।
चिनमा कुकको काम गर्दै आएका भारत विहार राज्यको सितामढी जिल्ला चरौत निवासी एक युवकमा कोरोना भारइसको लक्षण देखिएकाले उनलाई सदर अस्पतालमा भर्ना गरिएको छ ।
जनकपुरधाममा पनि चीनमा अध्ययनरत केही विद्यार्थीहरु भागेर आएकाले प्रहरीले त्यस्ता विद्यार्थीहरुलाई खोजेर उनको स्वास्थ्य अवस्थाबारे बुझने प्रयास गरिरहेको छ ।
Sponsored