दिलिप महतोलाई हत्या गरेका ३ जना दोषी ठहर, यस्तो हुनसक्छ सजाय
टुडेपाटी-
जनकपुरधाम, फागुन २ गते ।
धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरका दिलिप भनेर चिनिने ओम प्रकाश महतोको हत्यामा संलग्न तीन जनालाई जिल्ला अदालतले दोषी ठहर गरेको छ।
औरही खोलामा अवैध रुपमा बालुवा–गिट्टी खनेको विरोध गर्दा मारिएका महतोको घटनामा विपिन महतो, जितेन्द्र महतो र मुनीन्द्र महतो दोषी ठहर भएको स्रेस्तेदार विकास बस्नेतले जानकारी दिए।
उनका अनुसार जिल्ला अदालत धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको इजलाशले विपिन, जितेन्द्र मुख्य कसुरदार र मुनीन्द्र मतियार ठहर भएका हुन्।
अगामी फागुन १२ गते उनीहरूलाई न्यायाधीश गुरुङले सजाय निर्धारण गर्ने स्रेस्तेदार बस्नेतले बताए। उनका अनुसार मुख्य अभियुक्तहरूलाई २५ वर्ष वा आजिवन कैद सजाय हुनसक्छ।
Sponsored
कसुरदार ठहर भएका विपिन चुरियामाई बालुवा प्रशोधन उद्योगका सञ्चालक हुन्।
जितेन्द्र र मुनीन्द्र त्यहाँ कामदार थिए। हत्या अभियुक्तहरू क्रसर उद्योग सञ्चालक विनोद महतो र कामदारहरू सत्यनारायण महतो, शत्रुधन महतो र रोशनकुमार महतोलाई सफाइ दिएको छ। अभियोग बमोजिम प्रमाण नभेटिएपछि उनीहरूलाई सफाइ दिएको स्रेस्तेदार बस्नेतले बताए।
घर नजिकैको औरही खोलामा भैरहेको उत्खननको विरोध गर्न पुगेका दिलिपको २०७६ पुस २५ गते बिहान हत्या भएको थियो।फलामको लिभर र पेचकसले शरीरका विभिन्न भागमा क्रुरतापूर्वक प्रहार गरी दिलिपको जिउमाथि टिपर चलाइएको थियो।