पार्टी छोडेर जानेलाई पुनः प्रवेशमा रोक लगाउँदै जनमत
टुडेपाटी-
जनकपुरधाम, फागुन २ गते ।
पार्टी छोडेर गएका नेताहरुलाई पुनः प्रवेशमा रोक लगाउने तयारी जनमत पार्टीले गरेको छ । काठमाडौंमा तीन दिनसम्म चलेको जनमत पार्टीको केन्द्रीय कार्यकारिणी समितिको विशेष बैठकले पार्टी छोडेर गएका नेता तथा कार्यकर्ताहरुलाई पुनः प्रवेश गर्न नदिने वा गरेको खण्डमा ६ वर्षसम्म कुनै पनि पदमा वा निर्वाचनमा सहभागि हुन नदिने तयारी गरेको हो ।
निर्वाचनको क्रममा अन्तर्घात गरेका, खुला वा छद्म रूपमा अन्य पार्टीलाई सहयोग गरेका, निर्वाचनको मुखमा अरू पार्टीमा प्रवेश गरेका वा बागी उम्मेदबार बनेका सदस्यहरूमाथि कडा कारबाहीका लागि पार्टीले तयारी गरिरहेको जनाइएको छ । उक्त विषयहरुमा पुनः बैठक बसी केही दिनमै निर्णय सार्वजनिक हुने जनमत पार्टीले जनाएको छ ।
माघ २८ देखि फागुन १ गतेसम्म चलेको बैठकमा संगठनको पुनर्संरचना, केन्द्रीय संरचनाहरूको पुनर्गठन, संघीय परिषद् र प्रादेशिक समितिहरूको गठन बारे पनि छलफल भएको छ । घर–घर जनमत अभियान, जनमत प्रवेश महाअभियान, नवप्रवेशी र नेता कार्यकर्ताहरूको व्यवस्थापन, प्रशिक्षण र अनुशासन, जिल्ला इन्चार्जहरूको नियुक्ति-फेरबदल, जिल्ला अधिवेशनको तैयारी बारे पनि छलफल भएको हो । भातृ संगठन, मोर्चा र विभागहरूको पुनर्गठन, हरेक जिल्लामा प्रभावकारी र नियमित कार्यालय तथा हेल्पडेस्क व्यवस्थापन आदि विषयमा छलफल भएको छ ।
पार्टी प्रवेश गर्न चाहने राष्ट्रिय तथा जिल्ला स्तरका नेताहरूलाई पार्टी प्रवेश शीघ्रताका साथ गराउने र त्यसको लागि संयन्त्र निर्माण गरिने विषयमा छलफलसमेत भएको छ ।
Sponsored