मधेश प्रदेश : ऋण तिर्न नसकेर शान्ताले रोजिन् मृत्यु
टुडेपाटी-
जनकपुरधाम, फागुन २ गते ।
सप्तरीमा ऋण तिर्न नसकेर फेरि एकजनाले आत्महत्या गरेका छन् । १० पुसमा सप्तरीकै छिन्नमस्ता गउँपालिका–२ रामपुरका ४५ वर्षीय रामदेव मरिक डोमले ऋण तिर्न नसकेर आत्महत्या गरेको घटना सेलाउन नपाउँदै एक महिलाले ऋणकै कारण आत्महत्या गरेकी छन् ।
सप्तरीको कञ्चनरुप नगरपालिका ९ विष्णुमन्दिर टोलका भीमबहादुर भुजेलकी ५८ वर्षीय शान्ता कुमारी भुजेल पासोमा झुण्डेको अवस्थामा मृत भेटिएकी हुन् ।
सप्तरीका प्रहरी प्रवक्ता डिएस्पी नरेश सिंहका अनुसार शन्ता सोमबार बिहान घर नजिकै आँपको बगैँचामा रुखमा गम्छाले पासो लागेको अवस्थामा मृत भेटिएकी हुन् । शान्ताको शवको पोस्टमार्टम गरी मृतक परिवारलाई जिम्मा लगाइएको र घटना विषयमा थप अनुसन्धानध गरिरहेको डिएसपी सिंहले बताए ।
स्थानीयका अनुसार शान्ताले लिएको ऋण तिर्न नसकेर लघुवित्त तथा साहुमहाजनको दबाबले तनामा आत्महत्या गरेकी छन् । भुजेल परिवारको सम्पतिको नामा रहेको १० धुर घरघडेरी पनि एक वर्ष अघि एक साहुको नाममा पास गरी ऋण लिएका थिए ।
कञ्चनरुप नगरपालिकाकी उपमेयर मुना कुमारी पाखरेलले घटनास्थलमा जाँदा स्थानीयहरुले ऋणकै कारण तनाबले आत्महत्या गरेको बताएको बताइन् । केही दिन अघि उनको श्रीमान् भीमबहादुर उपमेयर पोखरेलको घरमा गएका थिए । त्यहाँ एकरात बास बसेपछि बिहानपख भीमबहादुरले साहुमहाजनले आफूलाई ऋण तिर्न दबाब दिइरहेको सुनाएको उपमेयर पोखरेलले बताइन् ।
‘म घटनास्थल पुग्दा प्रायः छिमेकले ऋणकै कारण शान्ताले आत्महत्या गरेको सुनाए । अस्ति उहाँको श्रीमान् भीमबहादुर मेरो घरमै आएर बस्नु भयो । ऋण तिर्न साहु महाजनले दबाब दिइरहेको छ । श्रीमती उत्ता धरमपुरतिर गइँछन् भनेर सुनाउँदै हुनुहुन्थ्यो’, उपमेयर पोखरेलले सुनाइन् ‘मैले भनिकी थिएँ । ऋणको कारण भागेर हुँदैन । थोरै छ भने मै तिरिदिउँला । कसैको ऋण छ भने तिर्छु भनेर सम्झाउँछु बुझाउँनुस् । यति भनेर म अफिसतिर लागे’
Sponsored
दुई वर्ष अघिसम्म भुजेल परिवार उपमेयर पोखरेलकै घरमा ज्याला मजदुरीमा काम गर्दै आएका थिए । भीमबहादुरलाई १ कठ्ठा जग्गा उपमेयर भुजेलकै परिवारले दिएर घर बनाइदिएको थियो । भीमबहादुर दुई दाजु भाइछन् । छुट्टिएपछि दुई भाग परेर १०–१० धुर लिए ।
उपमेयर पोखरेलका अनुसार शान्ताको २५ लाख जति ऋण छ । स्थानीका अनुसार इन्फिनिटी लघुवित्तय संस्था लिमिटेडको महुली, स्वावलम्बन लघुवित्त विकास बैंकको शाखा महुलीमा लागमोसमयदेखि आवद्ध रहेकी स्थानीयले बताएका छन् ।
गत असार महिनामा महुली स्थित लघुवित्तका कर्मचारीहरु भुजेलको घरको सबै समान लागेपछि उनी निकै तनाबमा थिइन् ।
शान्ताका तीन छोरा छोरी छन् । दुई छोरी बिहे भइसकेको छ भने एक छोरा वैदेशिक रोजगारमा छन् । बुहारी माइतमा छिन् । भीमबहादुर र श्रीमती शान्ता घरमा बस्ने गरेका थिए ।