बिहानैदेखि जनकपुर लगायत देशभरका स्वास्थ्य संस्थाको आकस्मिक बाहेक सबै सेवा बन्द
टुडेपाटी-
जनकपुरधाम, माघ २९ गते ।
नेपाल चिकित्सक संघको आह्वानमा देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द भएको छ । मधेश प्रदेशको जनकपुरधाम प्रादेशिक अस्पताल, सरकारी तथा गैरसरकारी, निजी अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठान लगायतका सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण सेवाहरु बिहानैदेखि चितिकित्सकले बन्द गरेका हुन् ।
चिकित्सकको आन्दोलनले बिरामी मार्कामा परेका छन् । माघ २७ गते राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा ट्रमा सेन्टरका एक चिकित्सकलाई सुरक्षाकर्मीले लाठी प्रहार गरेर घाइते बनाएको भन्दै संघले आज एक दिन देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ ।
यता नेपाल चिकित्सक संघ जनकपुर शाखाका शनिबार बसेको आकस्मिक बैठकले संघको केन्द्रीय समितिको बैठक ले गरेको निर्णय प्रति एक्बद्ता जनाउदै आज (आइतबार) यस शाखा अन्तर्गतका सरकारी तथा गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठान लगायतका सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण सेवाहरु बन्द गर्ने निर्णय गरिएको सचिव डा. रामज्ञान यादवले बताए ।
नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीका अनुसार देशभरका सरकारी तथा गैरसरकारी र निजी अस्पताल, मेडिकल कलेज, प्रतिष्ठान लगायत सबै प्रकारका स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका सेवा बन्द गरिएको छ ।
यसैबीच स्वास्थ्य मन्त्रालयले गएराति विज्ञप्ति जारी गर्दै आन्दोलन फिर्ता लिन र नियमित सेवामा खटिन नेपाल चिकित्सक संघलाई आह्वान गरेको छ ।
Sponsored
मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीले एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य क्षेत्र जस्तो संवेदनशील विषयमा सम्पूर्ण स्वास्थ्यकर्मीहरु थप संवेदनशील बनेर अस्पतालमा उपचारका लागि आउने दीर्घरोगी, जटिल प्रकारका बिरामीहरुको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै आन्दोलनका कार्यक्रम फिर्ता लिन आह्वान गरेका हुन् ।
डा. अधिकारीले चिकित्सकलाई घाइते बनाउने प्रहरीलाई निलम्बन गरी कारबाहीको प्रक्रिया अघि बढाइसकेको र उक्त घटनाको विषयमा थप छलफल गरी समस्याको समाधान गर्न प्रयास भइरहेको जानकारी पनि दिएका छन् ।