फागुन १ गते मधेश प्रदेशमा सार्वजनिक बिदा
टुडेपाटी-
जनकपुरधाम, माघ २७ गते ।
जनयुद्ध दिवसको अवसरमा मधेश प्रदेशमा फागुन १ गते सार्वजनिक बिदा रहेको छ । जनयुद्ध दिवसमा फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय मधेश सरकारले राजपत्रमै प्रकाशित गरिसकेको छ ।
लालबाबु राउत नेतृत्वको सरकारमा माओवादी केन्द्रबाट गृह तथा संचार मन्त्री भएका भरत प्रसाद साहको प्रयसामा गत वर्ष नै फागुन १ गते जनयुद्ध दिवस मनाउन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । गत वर्ष फागुन १ गते पनि मधेश सरकारले जनयुद्ध दिवस मनाउन सार्वजनिक विदा दिएको थियो भने माओवादीको दश वर्षे जनयुद्धमा सहिद, बेपत्ता भएका परिवार र घाइतेलाई एकएकलाख रुपैयाँ वितरण गरेको थियो ।
जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने मधेश सरकारको अनुसरण अन्य प्रदेशले पनि गर्न थालेको छ । बागमती प्रदेशले पनि जनयुद्ध दिवसको यसवर्षदेखि सार्वजनिक विदा दिने निर्णय गरेको हो ।