मधेश प्रदेश : घरमै पसेर वृद्धमाथि भारतीयले गरे गोली प्रहार
शुभ नारायण यादव-
सप्तरी ,माघ २६ गते ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा न.१३ गोबरगाढा टप्पुमा भारतीय नागरिकले घरमै घुसेर एक वृद्धमाथि गोली प्रहार गरेका छन् । गोली लागेर स्थानीय ६५ वर्षीय महेन्द्र पासवान घाइते भएका हुन् ।
बुधबार बेलुका करिब साढे ६ बजेतिर भारतीय नागरिकले पासवानको घरमै आएर गोली हानेको बताइएको छ । घुँडामा गोली लागेको उनलाई उपचारका लागि राजविराज ल्याउन लागेको हो । उनको घुँडामा गोली लागेको छ ।
यता सो घटनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रमुख एसपी नरेन्द्र कुमार कार्कीले पासवानमाथि भारतीय नागरिकले गोली प्रहार गरेको पुष्टि गरेको छ। उनले भारतीय जाबेद भन्ने व्यक्तिले गोली हानेको र उनको खोजीमा लागिसकेको बताए । घटनाबारे बुझ्न प्रहरी घटनास्थल पुगेको उनको भनाई छ ।
घटनास्थल गोबरगाढा कोशीको मध्यभागमा पर्छ । उक्त गाउँ भारतीय सिमासँग जोडिएको छ । त्यहाँ पटक(पटक भैंसी चोरी भएको छ । चोरीको आरोपमा एक भारतीयलाई गोबरगाढाबासीले नियन्त्रणमा लिएपछि गोली प्रहार गरिएको बुझिएको छ ।
Sponsored