राष्ट्रिय टिममा सन्दीप लामिछाने समावेश
टुडेपाटी–
काठमाडौं, माघ १९ गते ।
जवरजस्ती करणीको आरोप लागेपछि साढे तीन महिना निलम्बनमा परेर फुकुवा भएका पूर्व कप्तान सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टिममा समावेश भएका छन् ।
बुधबार नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठकले सन्दीपको निलम्बन फुकुवा गर्ने निर्णय गरेको थियो ।
राष्ट्रिय टिममा फर्काउने अधिकार भने खेलाडी छनोट समितिलाई दिइएको थियो ।
क्रिकेटका प्रमुख छनोटकर्ता दीपेन्द्र चौधरीले टिममा सन्दीपको आवश्यकता देखेर नेपालमा हुने आसन्न चारवटा एकदिवशीय अन्तर्राष्ट्रिय खेलका लागि टिममा समावेश गर्ने निर्णय भएको बताए ।
उनका अनुसार सन्दीपलाई आज साँझदेखि क्याम्पमा सहभागी हुन भनिएको छ । चौधरीले भने, ‘सन्दीपको क्षमताको बारेमा त सायद कसैलाई शंका हुने छैन । फिटनेस र फिजियो चाहीँ हेर्नुपर्छ ।’
Sponsored
छनोट समितिले टिममा समावेश गर्ने निर्णयसँगै सन्दीपले बिहीबारै प्रमुख प्रशिक्षक मोन्टी देशाईसँग भेटेर कुराकानी गरेका छन् भने केही खेलाडीसँगै कीर्तिपुरमा पुगेर अभ्यास गरेका छन् ।
बिहीबार राष्ट्रिय टिमको ‘रेष्ट डे’ भएकाले शुक्रबारमात्र उनको फिटनेस परीक्षण हुनेछ ।
‘फिटनेस ट्रेनर र फिजियोको रिपोर्ट सकारात्मक आएपछि सन्दीप नियमित प्रशिक्षण सुरु गर्ने क्यानका क्रिकेट म्यानेजर विनोद दासले भनेका छन् ।
नाबालिग बलात्कार आरोप लागेपछि सन्दीपलाई असोज २० गते प्रहरीले पक्राउ गरेको थियो ।
त्यसको भोलिपल्ट क्यानले उनलाई राष्ट्रिय टिमबाट निलम्बन गरेको थियो ।
सन्दीप उच्च अदालतको आदेशपछि मंसिर २९ गते धरौटीमा रिहा भएका छन् ।