धनुषा प्रहरीको हिरासत फोडेर भाग्ने योजनाकार शर्मा पक्राउ
टुडेपाटी-
जनकपुरधाम, माघ १९ गते ।
धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासत फोडेर भाग्ने योजनाकार पक्राउ परेका छन् । लागुऔषध मुद्दामा पक्राउ परेर फरार भएका धनुषाको क्षिरेश्वरनाथ नगरपालिका –५ का ३५ वर्षीय विनोद कुमार शर्मा पक्राउ परेका हुन् ।
उनलाई बुधबार राति १ बजे मथिला नगरपालिका १० स्थित रातु खोलाको बगरमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको धनुषाका डिएसपी प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए ।
उनका अनुसार पुस २८ मा लागुऔषधसहित पक्राउ परेका शर्माले नै हिरासत फोड्ने योजनाकार हुन् । हिरासतमा सबैभन्दा बढी १८ दिनदेखि शर्मा नै थुनुवा थिए । र उनैले फोड्ने सुरुवात गरेर पछि अन्य थुनुवाको साथ पाए र पछि फोड्न सफल भएर ६ जना एकसाथ फरार भएका थिए ।
शर्मासंगै फरार ६ जना मध्ये ४ जना पक्राउ परिसकेका छन् । मंगलबार राति अभद्र व्यवहार तथा शान्ति सुरक्षाविरुद्धको मुद्दाका फरार थुनुवा हरिदिप सिंह, मंगलबार दिउँसो अमित मण्डल र सोमबार हातहतियार खरखजाना मुद्दाका रोशनलाई सोमबार साँझ नै प्रहरीले पक्रेको थियो । अन्य दुई थुनुवाको खोजी कार्य तिप्र पारिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।