मधेशमा जनमतका कुशवाहा स्वीकारे कृषि मन्त्रालय
टुडेपाटी-
जनकपुरधाम, माघ १३ गते ।
मधेश प्रदेश सरकारमा जनमत पार्टीले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय स्वीकारेको छ । जनमतबाट बिनाविभागीय मन्त्री वसन्त कुशवाहाले आज सो मन्त्रालयको पदभार ग्रहण गर्दैछन् ।
सामाजिक विकास मन्त्रालय नदिएर कृषि मन्त्रालय दिएपछि असन्तुष्ट बनेको जनमत संसदीय दलको बैठक शुक्रबार बिहान सोही मन्त्रालय स्वीकार गर्ने निर्णय गरेको संसदीय दलका नेता महेश प्रसाद यादवले जानकारी दिए ।
‘जनमतले समाजिक विकास र कृषि मन्त्रालय लिने सहमति भएको थियो । तर पहिलो चरणमै सामाजिक विकास मन्त्रालय दिनु पर्नेमा हेरफेर गरेर कृषि दियो । हामीले मागेकै मन्त्रालय दिएकोले तत्काल स्वीकार गर्ने हाम्रो निर्णय भएको छ’ उनले भने ‘अब समाजिक विकास मन्त्रालयको लागि दबाब दिन्छौं ।’
जनमतका कुशवाहालाई महत्वपूर्ण तीन मध्ये पहिलो चरणमा समाजिक विकास मन्त्रालय दिने दलहरुबीच सहमति भएको थियो । मधेश प्रदेश प्रमुख कार्यालयबाट बिहीबार प्रकाशित विनाविभागीय तीन मन्त्रीको कार्यालय विभाजनमा जनमतका कुशवाहालाई सामाजिक विकास मन्त्रालय नभएर भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय दिएको उल्लेख छ ।
जनमतका दलका नेता महेश प्रसाद यादवले सहमति विपरीत दिएको मन्त्रालय नस्वीकार्ने बताएका थिए । यस बारे बसेर छलफलपछि कसरी अगाडी बढ्ने निर्णय लिने बताएका थिए ।
Sponsored