आज बलिदानी दिवस मनाइँदै, मधेशमा सार्वजनिक बिदा
टुडेपाटी-
जनकपुरधाम, माघ ५ गते ।
प्रथम मधेश आन्दोलनको आज १६ वर्ष पुरा भएको छ ।
आजकै दिन ५ माघ २०६३ मा प्रथम मधेश आन्दोलनको क्रममा सिरहाको लहानमा रमेश महतो सहिद भएका थिए ।
प्रथम बलिदानीको सम्झनामा मधेसकेन्द्रित दल र प्रदेश सरकार माघ ५ गतेलाई बलिदानी दिवसको रुपमा मनाउँदै आएका छन् ।
२०६३ मा तत्कालीन मधेसी जनअधिकार फोरम नेपालका संयोजक उपेन्द्र यादवलगायतका नेताहरुले अन्तरिम संविधानको प्रतिलिपि जलाए र प्रहरीले उनलाई पक्राउ गरेपछि आन्दोलन शुरु भएको थियो ।
आन्दोलनका क्रममा लहानस्थित लिटिल स्टार बोर्डिङ स्कुलमा अध्यनरत सिरहा मझौराका विद्यार्थी रमेश महतो पहिलो सहिद भए । त्यसपछि मधेशभर आन्दोलन चर्किएको थियो ।
बलिदानी दिवसको अवसरमा मधेश प्रदेशमा आज सार्वजनिक बिदा रहेको छ । मधेश सरकारले बलिदानी दिवसको अवसरमा आज सार्वजनिक बिदा दिएको हो ।
Sponsored
प्रदेश सरकार सहित मधेश केन्द्रित दलले विभिन्न कार्यक्रम गरि बलिदानी दिवस मनाउँदै छन् ।