मधेश प्रदेशमा आज सभामुखको निर्वाचन हुँदै
टुडेपाटी-
जनकपुरधाम, माघ ३ गते ।
मधेश प्रदेशसभाको सभामुखको निर्वाचन आज हुँदैछ । दिउँसो १ बजे बोलाइएको बैठकमा सभामुखको लागि मतदान र नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने कार्यक्रम रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।
सोमबार नै सभामुखको निर्वाचन र मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यतालिका थियो । तर,
पोखरामा भएको विमान दुर्घटनाका कारण सोमबार राष्ट्रिय शोकको बिदा घोषणा गरिएपछि बैठक स्थगित गरेको थियो ।
मंगलबार दिउँसो १ बजे बैठक बस्ने सूचना सांसदहरूलाई पठाइएको हो ।
सभामुखको लागि सत्ता गठबन्धन घटक नेकपा एमालेबाट रामचन्द्र मण्डल र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसबाट जंगीलाल राय उम्मेदवार छन् । दुबैजना पुस ३० गते उम्मेदवारी दर्ता गराएका थिए ।
प्रदेशसभामा एमालेका २३ , काँग्रेस २२, जसपा १६, जनमत १३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र माओवादी केन्द्रका ९–९, एकीकृत समाजवादीको ७ सांसद छन् भने नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका १–१ जना सांसद छन् । यस्तै पाँचजना स्वतन्त्र सांसद छन् ।