TodayPati

छात्रा मृत्यु प्रकरण : पीडित परिवारलाई पैसा लिएर मिल्न धम्की

टुडेपाटी-
सिरहा, पुस २८ गते ।

मिर्चैयास्थित सगरमाथा उमाविमा अध्ययन गरिरहेकी सिरहा नगरपालिका ११ भलुवाहीकी १५ वर्षीया छात्रा सिर्जना कुमारी महराको गत २३ गते साँझ विद्यालयको लापरवाहीका कारण मृत्यु भयो । गत २२ गते विद्यालयमा उनले औषधी खान पानी मागेपछि शिक्षिकाले झुक्किएर उनलाई स्पिरिट दिएकी थिइन् । लगत्तै उनी झन् अस्वस्थ भइन् ।

स्पिरिट खाएर बेहोस जस्तो भएकी उनलाई विद्यालयले अस्पताल नपुर्याएर घर पुर्याएको थियो । घरमा विस्तारै उनी केहि बुझ्नै नसक्ने गरी बेहोस भएपछि परिवारजनले उनलाई अस्पताल लग्यो । अस्पतालमा उपचारकै क्रममा सिर्जना दम तोडिन् । विद्यालयको चरम लापरवाहीका कारण ज्यान गुमाएकी सिर्जनाको न्यायको लागि मिर्चैयामा आइतबार दिनभर आन्दोलन भयो ।

Sponsored

प्रहरीले विद्यालय सञ्चालक प्रदीप तिवारी, स्पिरिट दिएकी भनिएकी शिक्षिका अम्बिका लम्सालसहित पाँच जनामाथि मुदा चलाएपछि मात्रै आन्दोलन साम्य भयो । प्रहरीले उनीहरुमाथि ज्यान मार्ने कसुरमा मुदा चलाएको छ । जसमध्ये सञ्चालक तिवारी र शिक्षिका लम्साललाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

तर, प्रहरीले मुदा चलाएपनि मृतक परिवार भने न्याय नपाउने हो कि भन्ने त्रासमा छन् । कारण हो – मृतक परिवारमाथि विभिन्न तवरबाट बनाइएको दवाव । विद्यालयको तर्फबाट विभिन्न व्यक्ति मृतकको घरमा पुगिरहेका छन् । सोमबार विहानै मिर्चैया नगरपालिकाका नगरप्रमुख श्रवण यादव मृतकको घर पुगे । यस्तै अन्य मान्छेहरु पनि निरन्तर उनको घर पुग्ने क्रम जारी छ ।

उनीहरुले पैसा लिएर मिलिहाल्न दवाव मृतक परिवारलाई दिइरहेका छन् । ‘पैसा लिएर केस सेटल गर्न हामीलाई दवाव आइरहेको छ,’ मृतकका बुवा धर्मेन्द्र महराले भने, ‘तर, हामीलाई न्याय चाहिएको छ ।’ यस्तो शोकको बेला दवाव दिन घरमा नआउन भन्दा मेयरले धम्की दिएको मृतकका मामा रंजित महराको आरोप छ । ‘अहिले घरमा सबै चिन्तामा छन्, तपाईहरु घरमा आएर दवाव जसरी दिएर झन् पीडा दिने काम नगर्नुस् भनेर मेयरलाई भन्दा उहाँले तिमी जस्तो ५० वटा गुण्डा मैले पालेको छु, कपाल नोचिहाल्छु भनेर धम्की दिनुभयो,’ उनले भने ।

Sponsored

जनप्रतिनिधिले यस्तो बेला झन् पीडितको न्यायका लागि लडिदिनुपर्नेमा मानसिक यातना दिने काम गरेको स्थानीयको गुनासो छ । उनीहरुले सरकारसँग मृतक परिवारलाई सुरक्षा दिन र मृतकलाई न्याय दिन अपिलसमेत गरेका छन् ।
यता मेयर यादवले आफूले मिल्न पीडित परिवारलाई धम्की दिएको आरोप झुटो रहेको दावी गरे । ‘ममाथि लगाइएको आरोप अनावश्यक हो । यसमा कुनै सत्यता छ‌ैन’ उनले टुडेपाटीसंग भने ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *