कोरोना संक्रमित सबैजनाको स्वास्थ्य अवस्था सामान्य छ : प्रवक्ता देवकोटा
टुडेपाटी-
काठमाडौं, वैशाख १५ गते ।
नेपालमा उपचाररत् कोरोना भाइरस संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सोमबार सबैको स्वास्थ्य सामान्य रहेको बताएका छन् ।
नेपालमा अहिलेसम्म ५२ जनामा संक्रमण देखिएको छ, जसमध्ये १६ जना निको भइसकेका छन् भने बाँकी ३६ जनाको देशभरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
हालसम्म पीसीआर र आरडीटी विधिबाट गरिएको परीक्षणको कुल संख्या ५३ हजार ५ सय ३४ पुगेको प्रवक्ता देवकोटाले बताए । कूल परीक्षण संख्यामा पीसीआरबाट १० हजार ४ सय ७१ छ र आरडिटीबाट ४३ हजार ६३ परीक्षण भएको छ ।
त्यसैगरी, देशैभर विभिन्न स्थानमा रहेका क्वारेन्टाइनमा बस्नेको संख्या २० हजार १ सय ९५ रहेको छ ।
Sponsored
काठमाडौं उपत्यकामा ८ र उपत्यकाबाहिर ९८ जना गरी देशैभर आइसोलेसनमा रहेका संक्रमित र सम्भावित संक्रमितको संख्या १ सय ६ रहेको प्रवक्ता देवकोटाले बताए। त्यस्तै, स्वास्थ्य मन्त्रालयले कोभिड-१९ विशेष सञ्चालनमा ल्याएको बेवसाइट र मोबाइल एपमा हालसम्म २७ हजार ५ सय ४२ जनाले स्वमूल्याकंनको लागि विवरण भरेको देवकोटाले बताए ।
गत २४ घण्टामा ८ जना थपिएसँगै रेड जोनमा पर्नेको संख्या भने ३०४ पुगेको छ । प्रवक्ता देवकोटाले भने, ‘रेड जोनमा पर्नेको परीक्षण र ट्रेसिङको काम सम्बन्धित विभाग तथा स्थानीय तहबाट भइरहेको छ ।’