TodayPati

प्रादेशिक अस्पताल जनकपुरमै सामाजिक दूरीको धज्जी उडाउँदै

धैर्यकान्त दत्त-

जनकपुरधाम, वैशाख १५ गते ।

विश्वभर फैलिएको कोरोना महामारीका कारण अहिले नेपाल पनि बन्दाबन्दी (लकडाउन) मा छ । कोरोना संक्रमण फैलिन नदिन लकडाउनको पूर्ण पालना गरी सामाजिक दूरी कायम गर्न सरकारले अनुरोध गरेको छ ।

Sponsored

तर, कोरोना संक्रमण फैलिरहेको बेला प्रादेशिक अस्पताल जनकपुरभित्रै सामाजिक दूरीको मजाक बनाइएको छ । बालबालिकाको लागि संघीय सरकारले सञ्चालनमा ल्याएको नियमित खोप दिलाउन प्रादेशिक अस्पतालको संस्थागत क्लिनिकमा सामाजिक दूरीको परवाह नगरी सयौंको संख्यामा अभिभावकहरु पुगेका छन् ।

यसअघि वडा कार्यालयमार्फत् बालबालिकालाई खोप दिइए पनि यसपटक उपमहानगरपालिकाले चासो नदिँदा प्रादेशिक अस्पतालको संस्थागत क्लिनिकमा भीडभाड बढेको हो ।

संस्थागत क्लिनिकमा भीडभाड बढे पनि दूरी कायम गराइएको छैन । खोप लिने साना बालबालिकाहरु रहेकोले भीडभाडमा उनीहरु थप जोखिममा रहेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

Sponsored

संघीय सरकारको परिपत्रअनुसार गत शुक्रबारदेखि नियमित खोप सञ्चालन भए पनि उपमहानगरले बालबालिकाहरुलाई वडामा खोप दिने व्यवस्था नगरेपछि संस्थागत क्लिनिकमा भीडभाड बढेको जनस्वास्थ्य कार्यालयका प्रमुख इन्द्रप्रसाद यादवले बताए ।

‘खोप सञ्चालन गर्न बिहीबार संघीय सरकारको पत्र हामीलाई प्राप्त भयो। शुक्रबारदेखि वडाहरुमा खोप सञ्चालन गर्न स्थानीय तहहरुलाई जानकारी गराइसकिएको छ,’ उनले भने, ‘वडाहरुमा खोप सञ्चालन नभएपछि संस्थागत क्लिनिकमा भीड बढेको छ ।’ वडा कार्यालयमै खोप सञ्चालन गराउन आफूहरुले सम्बन्धित निकायलाई जानकारी गराइसकेको उनले बताए।

जनकपुरधाम उपमहानगरपालिकाका खोप शाखाका प्रमुख उमेश रायले जनशक्ति अभावका कारण वडाहरुमा खोप सञ्चालन हुन नसकेको बताए । ‘दुईजना कर्मचारी छन्, बालबालिकालाई खोप दिने कि सामाजिक दूरी कायम गराउने,’ रायले भने, ‘वडा कार्यालयहरुमा भीडभाड बढी हुने भएपछि खोप सञ्चालन गर्न कठिनाइ भएको छ ।’

जनशक्ति थप्ने कुरा भइरहेको बताउँदै उनले आगामी महिनादेखि पुनः वडाहरुमै खोप सञ्चालन गरिने उल्लेख गरेका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *