TodayPati

मधेश प्रदेश : लेखाको श्रेस्ता लुकाउने तीन कार्यालय सहयोगी पक्राउ

टुडेपाटी–
रौतहट, पुस २ गते ।

लेखा शाखाबाट श्रेस्ता लगायत केही महत्त्वपूर्ण कागजात लुकाउने तीन जना कर्मचारी रौतहटको माधवनारायण नगरपालिकाबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा करारमा रहेका कार्यालय सहयोगीहरु अर्जुन साह, रामलखन हजारी र राजेश पंडित रहेको प्रहरीले जनाएको छ।

Sponsored

इन्स्पेक्टर रामराजा केशरीको नेतृत्वमा गएको टोलीले हराएका कागजात अन्य शाखाबाट फेला पारेपछि उक्त रहस्य खुलेको हो ।

सोधपुछ तथा प्रारम्भिक अनुसन्धानमा उक्त कागजात लुकाउनेमा तिनैजना कार्यालय सहयोगीहरुको हात रहेको देखिएकाले नियन्त्रणमा लिएको इन्स्पेक्टर केशरिले बताए ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा राखिएको छ ।

Sponsored

इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी बरुणकुमार सिंहले घटनाबारे अनुसन्धान भइरहेको तथा लेखा अधिकृत रामबलम यादवको जाहेरीको आधारमा कार्यबाही प्रक्रिया बढाइने बताए ।

नगरपालिकाका लेखा अधिकृत रामबलम यादवले आफू कार्यालयमा नरहेको समय लेखाका केही श्रेस्ता र महत्त्वपूर्ण केही कागजात हराएको बताउँदै आएका थिए ।

शुक्रबार कार्यालय पुगेर कागजातहरुको खोजि गर्दा नभेटेपछि ईलाका प्रहरी कार्यालय गरुडालाई घटना बारे जानकारी गराउँदा प्रहरीले केही कर्मचारीलाई सोधपुछ गर्दा हराएका सबै कागजात योजना फाँटका प्रमुख मेयर बैजुनाथ यादवका भाइ कृष्णनन्दन यादवको दराजमा फेला पारेको थियो ।

मेयर बैजुनाथ प्रसाद यादवले कुनै कार्यक्रम नै नगरी जिल्लाको विभिन्न होटलमा खाना र खाजा खुवाएको लाखौं रकम भुक्तानी गराएको फाइल अख्तियारको हातमा पर्ने डरले मेयरले नै उक्त कागजात लुकाउन लगाएको लेखा अधिकृत यादवले बताए ।

लेखा अधिकृत यादवका अनुसार गौरमा रहेको राज होटलको ४ लाख ९ हजार ३ सय, चन्द्रनिगाहपुरको एन प्लाजा होटलको २ लाख ४३ हजार र सोही ठाउँको पशुपति होटलको ४६ हजार रुपिया भुक्तानी दिइएको हो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *