एमालेसँग जसपाको ‘ब्रेकअप’ले मधेशमा सत्ता गठबन्धनको सरकार बन्ने सम्भावना
टुडेपाटी –
जनकपुरधाम, मंसिर १९ गते ।
मधेश प्रदेशमा सत्ता गठबन्धन नेतृत्वको सरकार धन्ने सम्भावना बढेको छ । यो प्रदेशमा प्रत्यक्षमा १५ प्रदेशसभा सदस्य जितेर पहिलो दल बनेको नेकपा एमालेको नेतृत्व सरकार निर्माणको सम्भावना क्षीण भएको छ ।
नौ सिट जितेर तेस्रो दलको हैसियतमा पुगेको जनता समाजवादी पार्टीले एमालेसंगको सहकार्य सकिएको घोषणा गरेपछि सत्ता गठबन्धन सरकारको सम्भावना बढेको हो ।
आइतबार बिराटनगर विमानस्थलमा जसपा अध्यक्ष उपेन्द्र यादले एमालेसँगको सहकार्य सकिएको घोषणा गरेका हुन् ।
‘हामीले चुनावमा एमालेसँग केही क्षेत्रमा तालमेल गरेका थियौं, चुनावसँगै सहकार्यको कोर्स सकिएको छ ।’ यादवले भनेका छन् । उनको यो घोषणाले अब फेरि पाँचदलीय गठबन्धनमा फर्किने जसपाको सम्भावना बढेको विश्लेषण भइरहेको छ । यधपी यादवले सरकार गठनमा कसलाई समर्थन गर्ने वा नगर्ने विषयमा निर्णयमा निर्णय भने गरिसकेका छैन ।
सत्ता गठबन्धनसंग सहकार्य गरेर जसपा जान सक्ने सम्भावना बढेको मधेश प्रदेशका जसपा संसदीय दलका निवर्तमान उपनेता तथा नवनिर्वाचित प्रदेश सांसद रामअशिष यादवले बताए ।
यधपी केन्द्रीय कार्यकारिणी समितिको बैठकले यो विषयमा गरेको निर्णय नै अन्तिम हुने उनको भनाइ छ ।
एमाले नेतृत्वको सरकारमा सहभागी हुने सम्भावना नरहेको उनले बताए । ‘हुन त काँग्रेसको व्यबहारले एमालेसँग जसपा बाध्य भएर चुनावी गठबन्धन गर्यो । जुन अप्राकृतिक थियो । त्यो भुलबस नै भएको हाम्रो बुझाइ छ’, उनले भने ‘ अब नयाँ शिराबाट संघीयता पक्षधरसंग गठबन्धन गरेर अघि बढ्नु पर्छ ।’
मुख्यमन्त्री लालबाबु राउतले मधेश प्रदेशमा सत्ता सञ्चालनको जसपालाई म्याण्डेड नभएको बताउँदै सरकारको एउटा पार्ट बनेर बस्ने वा प्रतिपक्षमा बस्ने विषयमा पार्टीले निर्णय गर्ने बताए ।
मधेश प्रदेशमा सभामा प्रत्यक्ष ६४ र समानुपातिक ४३ गरी १०७ सदस्य सिट रहेको छ । प्रत्यक्ष ६४ सिट मध्ये १३ सिट जितेर काँग्रेस दोश्रो, ९ सिट जितेर जसपा तेश्रो दलको हैसियतमा पुगेको छ । समानुपातिक मत परिणामले पनि एमाले पहिलो दल र काँग्रेस दोस्रो बन्ने निश्चित जस्तै देखिन्छ ।
यस्तै ७ सिटसहित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) चौथो, ६ सिटसहित जनमत पाँचौ दल बनेको छ । यस्तै ४–४ सिट नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी र ६ सिट स्वतन्त्रहरुले जितेका छन् ।
प्रत्यक्षको सार्वजनिक नतिजा र समानुपातिकको जारी मतगणा परिणामले सरकार बनाउने स्पष्ट बहुमत कुनै दलले नपाउने देखिन्छ ।
Sponsored
पाँच दलीय गबन्धन र दुई दलीय गठबन्धनको समेत बहुमत पुग्दैन । त्यस कारण कम्तिमा तीन ठूला दल वा स्वतन्त्र सांसदहरु नमिलाएको खण्डमा कुनै पनि दलको नेतृत्वमा सरकार बन्ने सम्भावना न्युन छ ।
मधेश प्रदेशमा प्रदेशसभा सदस्यमा ठूलो दलको हैसियतमा उदय भएको एमाले र दोश्रो दल काँग्रेस सरकार नेतृको दावी गर्दै कसरत गरिरहेका छन् । तर, जसपाको लाइनले अब काँग्रेस नेतृत्वमा मधेश सरकार बन्ने सम्भावना बढेको हो ।