TodayPati

जनकपुर : दुल्ही लिन गएका पाँच जन्तीको मृत्युले विवाह उत्सव यसरी बन्यो शोकमय !

टुडेपाटी-
जनकपुरधाम, मंसिर १७ गते ।

‘कहाँ छन् मेरो नाति ? कहाँ गइन् मेरी छोरी ?’ चिच्याउँदै बिलाप गर्दै थिइन् ६४ वर्षीयाकी शोभा साह । घरीघरी जोडजोडले चिच्याएर बिलाप गरिरहँदा प्रादेशिक अस्पताल जनकपुरको प्रांगण शनिबार बिहान भावविहल थियो । बेला बेला भिड छिचोलेर शोभा छोरी र नातिलाई हेर्न चाहन्थिन् । केही आफन्त उनलाई रोक्थे । बसाउँथे । सान्त्वना दिन्थे । छोरी र नाति सकुशल छन्, उपचार हुँदै छन् भनेर । शोभालाई सम्हाल्नै हम्मेहम्मे परिरहेको थियो आफन्तजनलाई । शोभा दुर्घटनाको खबर सुनेदेखि होसमा थिइनन् । कारण हो, धनुषामा जन्ती बोकेको विंगर दुर्घटनामा ३५ वर्षीया छोरी रुवीकुमारी साह र नाति ११ वर्षीय एसकुमार साह गुमाउनु ।

छोरा एसकुमार र दिदी रुवीको मृत्युले शोभाकी छोरा रुपेश साह पनि गम्भीर पीडामा थिए । उनको श्रीमती प्रियंका सवारी दुर्घटनामा घाइते भएकी छन् । रुवी धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका ४ तुल्सीयाहीकी हुन् ।

Sponsored

महोत्तरीको पिपरा गाउँपालिका वडा नं. २ गमहरिया बस्ने शोभा जस्तै होस्मा थिएनन् रामगोपालपुर नगरपालिका वडा नं. ७ सहसौला बस्ने जीवछ साह । हाँसीखुसी सोही गाडीमा जन्ती गएकी दुई छोरी कहिल्यै नफिर्किने गरी अस्ताइन् । दुई छोरी गुमाएको पीडाले छिवछ अचेत थिए । अन्य केही आफन्तले उनलाई आँशु रोक्ने प्रयास गर्दै थिए । उनको १३ वर्षीया छोरी १३ वर्षीया सृजना साह र १८ वर्षीया मञ्जुको सोही सवारी दुर्घटनामा मृत्यु भएको छ । चार सन्तानका बुबा जीवछको मञ्जु माहिली छोरी थिइन् भने सृजन कान्छी । दुर्घटनामा विंगर चालक धनुषाको धनौजी गाउँपालिका ४ अब्दुल मन्सुरको मृत्यु भएको छ । सोही गाडीमा सवार ९ जना घाइते छन् ।

शुक्रबार दिउँसै पिपरा गाउँपालिका वडा नं. २ गमहरियाका संजिव साहको बिहे थियो । उनको घरबाट विहे गरेर दुल्ही भित्र्याउन जन्ती तामझासहित इटहरीको खनारचौक जन्ती पुगेको थियो, ७–७ वटा स्कारपियो र विंगर, ३ वटा कारसहित २० वटा गाडीसहित । सोयम्बर सकियो । घर टाढा रहेकाले ७ वटा गाडी जन्ती लिएर फर्किन निस्कियो । विवाह सम्पन्न गरेर बेहुलीसहित फर्किन अझै गाडी विवाहस्थलमै रह्यो । घर फर्किएको ७ वटा गाडी केही अगाडीपछाडिकै दुरीमा थियो ।

सात मध्येका अधिकांश महिला र बालबालिका चढेको विंगर शनिबार बिहानै साढे ४ बजे धनुषाको बिरेन्द्रबजारमा दुर्घटनामा पर्यो । जन्ती लिएर फर्किदै गरेको ना १ ज ८३९६ नम्बरको विङ्गर र पश्चिमबाट पूर्व जाँदै गरेको ज १ च १४९६ नम्बरको पिकप एक आपसमा ठोक्किएर दुर्घटना भयो । जसमा घटनास्थलमै पाँचजनाको मृत्यु भयो ।

Sponsored

‘स्वयम्बर पछि टाढा छ भनेर ७ वटा गाडी एकै साथ निस्कियो । गाडी बाँकी थियो । अगाडीपछाडि गरे । अरु बाँकी गाडी विवाह सम्पन्न भएर दुल्हीसहित फर्किन त्यही रोकिएको थियो ।’ बेहुलाका भाई राजिवले सुनाए ‘बिहानै सवारी दुर्घटना भएको खबर पाएँ । केही जना बाहेक सबै जन्ती फर्कियौं ।’

दुर्घटनामा बेहुलाका आफन्तजन चारजनाको मृत्यु भएको छ भने ९ जना घाइते छन् । यो दुर्घटनाले बेहुली फर्किन नपाउँदै विवाह उत्सव शोकमा परिणत भएको छ । परिवारजनहरु शोकमा डुबेका छन् । विवाह घरमा सन्नटा छाएको छ ।

‘दुल्ही पनि भित्र्याउन पाएको छैन । दुर्घटनाले हाम्रो परिवारमा अकल्पनिय क्षति भएको छ । परिवार गाउँ आफन्त सबै शोकमग्न भयो ।’ दुल्हाका काका देवु साहले भने ।

घाइतेहरुको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । मृतकहरुको शवलाई पोस्टमार्टम गरी आफन्तजनको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी दीपक रायका अनुसार घाइते हुनेहरुमा महोत्तरीको लोहारपट्टी नगरपालिका ४ की १४ वर्षीया प्रतिक्षा साह र १४ वर्षीया कविता साह, धनुषाको मुखियापट्टी मुसहरनिया ४ का ३५ वर्षीय संजय साह, ३ वर्षीया अरुसा साह, ६ वर्षीय अर्नव साह, १० वर्षीया आयुस साह, पिपरा गउँपालिका २ की २६ वर्षीया प्रियंका साह, ४ वर्षीय अंयुस साह ४ र ५ वर्षीय प्रतिका साह रहेका छन् । उनीहरुको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । तीनजना उपचार पश्चात घर फर्केको डिएसपी रायले बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *