धनुषाको दुई क्षेत्रमा श्रीमान्-श्रीमतीले फहराए विजयी झण्डा
टुडेपाटी-
जनकपुरधाम, मंसिर १३ गते ।
धनुषाको चार प्रतिनिधि सभा क्षेत्र मध्ये दुई क्षेत्रमा एमालेबाट श्रीमान् श्रीमती प्रत्यक्ष चुनाव जितेका छन् । धनुषाब ३ बा श्रीमती जुलीकुमारी महतो र धनुषा ४ बाट श्रीमान् रघुवीर महासेठ । दुबै क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवारलाई दम्पतिले पराजित गर्दै जित हासिल गरेका हुन् । प्रत्यक्षबाट चुनाव जितेर एकैपटक सांसद बन्ने अवसर महासेठ दम्पतिले पाएका छन् । हुन त यसअघि पनि दुबैजना सांसद थिए । तर एकजना प्रत्यक्ष र एकजना समानुपातिक । यसपटक भने प्रत्यक्ष तर्फ नै दम्पतिले जित निकालेर सांसद बनेका छन् ।
धनुषा क्षेत्र नं. ३ बाट सत्ता गठबन्धन घटक लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार अनिल कुमार झालाई जुलीले ९ हजार ७०२ मत अन्तरले पराजित गरेकी थिइन् । जुलीले ३३ हजार ३८८ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्दी झाले मात्र
२३ हजार ६६८ मतमा सिमित भए ।
यस्तै धनुषा क्षेत्र नं. ४ बाट महासेठ सत्ता गठबन्धन घटक नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवलाई १२४ मतान्तरले पराजित गर्दै उनी विजयी भएका छन् । महासेठले ३२ हजार २३६ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्दी यादवले ३२ हजार ११२ मत पाएका छन् ।
महासेठ दम्पतिले जितेका दुबै क्षेत्र काँग्रेसको आधार क्षेत्र मानिन्छ । गत स्थानीय चुनावको नतिजाले पनि यही देखाउँछ । तर पार्टी र गठबन्धन भित्रको घात अन्तरघातले दुबै क्षेत्र महासेठ दम्पतिले सजिलै जित हात पारेका छन् ।
हुन त महासेठ दम्पति निवर्तमान् सांसद पनि हुन् । २०७४ को चुनावमा पनि रघुवीर धनुषा ४ बाट काँग्रेसलाई पराजित गर्दै प्रत्यक्ष जितेर सांसद भएकाक थिए भने जुली समानुपातिक तर्फबाट सांसद भएकी थिइन् । दम्पति पालैपालो केपी शर्मा ओलीको सरकारमा मन्त्री भएका थिए । अब दुबैजनाको भूमिका कस्तो रहने भन्ने सबैको चाँसोको विषय बनेको छ ।
Sponsored
महासेठ दम्पतिको परिवारबाट अर्का आफन्त पनि प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष जितेका छन् । जुलीकी आफ्नी दाई विरेन्द प्रसाद महतो सिरहा क्षेत्र नं. ४ बाट निर्वाचित भएका छन् । जनता समाजवादी पार्टी (जसपा) बाट महतोले ७ हजार ८०८ मतअन्तरले जनमत पार्टीका उम्मेदवार वीरेन्द्र प्रसाद साहलाई पराजित गर्दै विजयी भएका छन् । महतोले २४ हजार १०२ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्दी साहले १६ हजार २९४ मत पाएका छन् ।