कोरोना संक्रमित सर्लाहीका किशोरसहित चारजनाको तेस्रो रिपोर्ट नेगेटिभ, डिस्चार्जको तयारी
टुडेपाटी-
वीरगञ्ज, वैशाख १३ गते ।
वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत चारजना कोरोना संक्रमितको तेस्रो रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्जको तयारी गरिएकाे छ ।
उनीहरुको तेस्रो रिपोर्ट नेगेटिभ आएको सामाजिक विकास मन्त्रालय प्रदेश २ का सचिव रामप्रसाद घिमिरेले जानकारी दिएका छन् ।
लगातार दोस्रो पटक रिपोर्ट नेगेटिभ आएपछि चारैजनालाई डिस्चार्ज गर्ने अस्पतालले जनाएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. मदन कुमार उपाध्यायले चारै जनालाई डिस्चार्ज गर्ने तयारी भएको घिमिरेले बताए ।
उनीहरुको दाेस्राे रिपाेर्ट पनि नेगेटिभ नै आएकाे थियाे । तेस्राे परीक्षणकाे लागि शुक्रबार चारै जनाको थ्रोट स्वाब संकलन गरी परीक्षणको लागि पठाइएको थियाे ।
Sponsored
नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. मदन कुमार उपाध्यायले भने, ‘हामीसँग भएका पाँचमध्ये चारजनाको सेकेण्ड फलोअपमा निगेटिभ आयो । अर्को फलोअपको सेम्पल हिजो पठाएका थियाैँ । तेस्रो रिपोर्ट पनि नेगेटिभ आएपछि हामी उहाँहरुलाई घर पठाउने तयारीमा हामी जुटेका छौँ ।’
हाल नारायणी अस्पताललमा पाँच जना कोरोना संक्रमितको उपचार भइरहेको छ। जसमध्ये तीनजना भारतीय मुस्लिम धर्मगुरु, एकजना रौतहटका युवक र एकजना सर्लाहीका किशोर रहेका छन् ।
उनीहरुलाई शनिबार साँझसम्म अथवा आइतबार बिहानसम्म डिस्चार्ज गरिने अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. उपाध्यायको भनाइ छ ।