धनुषा ४ : गुनासो गर्दा एमाले कार्यकर्ताले मतदातामाथि हातपात गरेको आरोप
टुडेपाटी-
जनकपुरधाम, कार्तिक २९ गते ।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा मत माग्ने क्रममा गुनासो गर्दा नेकपा एमालेका कार्यकर्ताले हातपातसहित अभद्र व्यबहार गरेको आरोप लागेको छ । क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ५ का स्थानीय विशेश्वर महतोमाथि हातपात भएको आरोप लागेको हो ।
महतोले आफूलाई एमालेका स्थानीय नेता कार्यकर्ता महेन्द्र यादव, पूर्व वडाध्यक्ष रामकिसुन यादव, ललित साह सहितका कार्यकर्ता घरमै आएर हातपात तथा अभद्र व्यबहार गरेको आरोप लगाएका हुन् ।
पीडित महतोका अनुसार मंगलबार अपराहन्न साढे ५ बजेतिर एमालेकै केही स्थानीय महिला कार्यकर्ता सूर्य छापमा मतदान गर्न आग्रह गर्दै घरमा पुगेका थिए । महतोकी श्रीमती कविताकुमारीले जितेपछि नेताहरु पाँच वर्ष फर्केर नआउने गरेको, नेतालाई किन भोट दिने भन्दै आक्रोश पोखेकी थिइन् । त्यस क्रममा उनीहरुबीच भानाभान भएको थियो । सो क्रममा महतोले श्रीमती कविताले उचित कुरा गरेको भन्दै पक्ष लिएका थिए ।
घरदैलो गर्ने महिलाहरुले तत्कालै फोन गरेर एमाले कार्यक बोलाएकी थिइन् । तुरन्तै आएका महेन्द्र र रामकिशुन सहितका एमाले कार्यकर्ताले कुरै नबुझी आफूमाथि हातपात गर्दै अभद्र व्यबहार गरेको महतोले दुखेसो पोखे ।
‘हाम्रो कुनै गलती छैन । उनीहरु मत माग्न आएपछि मेरी श्रीमतीले जितेर गएपछि पाँच वर्ष नआउने नेतालाई किन मत दिने प्रश्न गरिन् । उनीहरु उल्टै किन यस्तो बोलेको भनेर विवाद गर्न थालेपछि म श्रीमतीको पक्षमा उभेको थिए’ महतोले भने ‘उनीहरुले गाली गर्यो भनेर फोन गरे । तुरन्तै भ्यानमा महेन्द्रसहित आएका एमाले कार्यकर्ताले म माथि हातपात गरेर धम्काए । यो कहाँको न्याय हो ? गुनासो पनि गर्न नपाउने ?’
हातपातको भिडियो एकजना बालकले खिचेका थिए । त्यो भिडियो डिलिट गराएको महतोको आरोप छ । महतोले आफूहरुमाथि कुटपिट गर्नेमाथि कारबाहीको माग गरेका छन् । स्थानीय प्रत्यक्षदर्शीले एमाले कार्यकर्ताको यो तरिका गुण्डा शैली भएको भन्दै विरोध गरेका छन् ।पीडितले कुटपिट गर्नेविरुद्ध भोलि प्रहरीम उजुरी दिने बताएका छन् ।
यता इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका इन्सपेक्टर बेचन यादवले कुटपिट विषयमा जानकारी नभएको र उजुरी आए अनुसन्धान गरेर कारबाही अघि बढाउने बताए ।
Sponsored